मंगलबार, मंसिर २५, २०८१

शान्ति समाजबाट १४ जना स्रष्टा पुरस्कृत हुने

नेपालखोज २०८१ कार्तिक २९ गते १९:३५

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजबाट स्रष्टा सम्मान अभियानअन्तर्गत वर्ष २०८१ को ‘स्रष्टा सम्मान पुरस्कार’बाट १४ जना पुरस्कृत हुने भएका छन् । कात्तिक २८ गते सम्पन्न पुरस्कार छनोट समितिको बैठकले प्राप्त मनोनयनमध्येबाट उक्त निर्णय गरेको हो । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

प्राणीशास्त्री वैज्ञानिक प्राडा मुकेशकुमार चालिसेलाई ‘मानबहादुर रावल वातावरण स्रष्टा सम्मान’, संस्कृतका विद्वान् प्राडा ऋषिराम पोखरेललाई ‘जोगमाया बराल स्रष्टा सौगात’, नेपाल भाषाकी अधिकारकर्मी प्राडा चुन्दा बज्राचार्यलाई ‘पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान’, साहित्यकार विवेक ओझालाई ‘कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान’, लिम्बू भाषाको प्रवर्द्धक लिला हाङ्मा सेलिङ्ग माबोलाई ‘चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान’, साहित्यकार बाबा बस्नेतलाई ‘भूमिप्रसाद बराल स्रष्टा सौगात’ र बान्तावा भाषाका प्रवर्द्धक पदम ‘राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान’ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी शान्ति समाजले पुरातत्वविद् प्रकाश दर्नाललाई राधादेवी दाहाल ‘सद्भाव स्रष्टा सम्मान’, साहित्यकार विवश पोखरेललाई ‘महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान’, साहित्यकार सत्यदेवी खड्कालाई ‘जनककुमारी रेग्मी स्रष्टा सौगात’, साहित्यकार गोपी सापकोटालाई ‘पद्यप्रसाद दाहाल स्रष्टा सौगात’, भोजपुरी साहित्यमा योगदान पुर्‍याउने पुजा बहारलाई ‘राधादेवी दाहाल स्रष्टा सौगात’, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी) लाई ‘श्रीप्रसाद दाहाल स्रष्टा सौगात’ र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई ‘श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कृत हुनेमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बू गरी सात भाषामा विशेष योगदान गरेका छन् ।

प्रतिक्रिया