आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा

काठमाडौं । लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन । मर्दी हिमालको फेदैमा पुग्ने उनको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गर्नै सकेनन् ।
तिहार पर्व मर्दी हिमालक्षेत्रमै मनाउने उद्देश्यले उनी पदयात्रामा निस्कनुभएको थियो, साथमा परिवार र साथीभाई लिएर । उनले भनिन्, ‘शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ ।
कार्कीले पहिलो पटक पदयात्राको अनुभव लिएको बताइन् । पछिल्लो समय फुर्सदमा पदयात्रामा निस्कने सँस्कारको विकास हुन थालेको छ । युवा पुस्तादेखि पाका पुस्तासमेत पदयात्रामा रमाउन थालेका छन् । कार्कीले तिहारमा टिका लगाउन नमिल्ने भएपछि घुम्न जाने गन्तव्यको रुपमा मर्दी ‘ट्रेक’ रोज्नुभएको थियो । जब उनी पदयात्रा सकेर फिरिन् । उनले प्राकृतिक दृश्यसँगै केही फरक अनुभूति गर्ने अवसर पाएको बताइन् । ‘हिँड्दा हिँड्दै जङ्गलको शान्त वातावरण महसुस गर्न पाएँ’, उनले भनिन्, ‘यस्तो प्राकृतिक शान्ति कोलाहलले भरिएको सहरमा कहाँ पाउनु ?’ कार्कीले सकेमा वर्षमा एक पटक पदयात्रा आवश्यक रहेको बताइन् । यसले शारीरिक र मानसिक दुवै तन्दुरुस्ती राख्नलाई फाइदा पुग्ने उनको ठम्याइ छ ।
कार्कीकै साथी सपना थापाले पहिलो पदयात्रा मर्दी हिमाल आधारशिविर पुगेर पूरा गरिन् । वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उनले बताइन् । सुरुमा पहाडको उकालो चढेर के हुन्छ ? भन्ने नकारात्मक भाव पैदा हुन्थ्यो । अरुले पदयात्रा गरेर इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको देखेपछि विस्तारै उनमा पदयात्रा मोह बढ्दै गयो । जब उनले मर्दी ट्रेक पूरा गरिन् । त्यसपछि पदयात्रा र भ्रमणप्रतिको विचार नै परिवर्तन भएको छ । उनले पहिलो पदयात्राको अनुभव सुनाउँदै भनिन्, ‘पहाड चढ्नु मात्रै होइन, यात्राका क्रममा देखिने जनजीवनले थुप्रै जीवन उपयोगी कुरा सिक्न र देख्न पाइँदो रहेछ ।’
१२ वर्षदेखि मर्दी हिमाल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका मर्दी हिमाल हाइ क्याम्पका अध्यक्ष राजकुमार तामाङका अनुसार आन्तरिक पर्यटक वृद्धि हुनुले पर्यटनमा दीर्घकालीन स्थायित्वको सम्भावना हुन्छ । मर्दी हिमाल पदयात्राका लागि ७४ वटा होटल सञ्चालित छन् । विदेशी र नेपाली पर्यटकहरु नजिकै माछापुच्छ्रे हिमाल, मर्दी, अन्नपूर्ण हिमश्रृङ्खलालगायत दृश्य एकैसाथ हेर्न मर्दी पदयात्रामा आउने गर्छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक भित्रिएका छन् ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष सोही अवधिमा छ दशमलव चार प्रतिशतले वृद्धि भएको हो । तुलनात्मक रुपमा आन्तरिक पर्यटकको आर्कषण पनि लोभ लाग्दो रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्ल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्नु स्वभाविक रहेको बताए । घुम्ने सँस्कृतिको विकास भएको र मान्छेले आयआर्जन गर्न थालेकाले खर्च गर्न थालेको उनले बताए । आन्तरिक पर्यटक वृद्धि हुँदा प्रादेशिक अर्थतन्त्रमा टेवा पुग्ने तर राष्ट्रिय अर्थतन्त्र उकास्न चाहीँ विदेशी पर्यटक नै मूलस्रोत रहेको अध्यक्ष पाण्डेको बुझाइ छ ।
प्रतिक्रिया