‘सुन्दर भवनले होइन, सेवाले जनताको अवस्था बदलिन्छ’

नेपालखोज २०८१ मंसिर ३ गते १९:२५

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताएका छन् । कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताए ।

‘भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन’, उनले भने, ‘त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ ।’ प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उनको भनाइ छ ।’

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उनले भने ‘नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ ।’ उनले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिए ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले सकेसम्म सेवालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिन आग्रह गरे । राजमार्ग नजिकका अस्पताललाई जनशक्ति र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले प्राथमिकतामा दिइरहेको उनले बताए । रासस

प्रतिक्रिया