आइतबार, वैशाख १४, २०८२

राष्ट्र बैंकको ढुकुटीमा २२ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति

नेपालखोज २०८१ मंसिर ४ गते १४:५२

काठमाडौं । विदेशी मुद्राको सञ्चिती रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति नौं दशमलव चार प्रतिशतले बढेर २०८१ असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले बढेर १६ अर्ब ६० करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा सात दशमलव पाँच प्रतिशतले बढेर १९ खर्ब ८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६ दशमलव नौं प्रतिशतले बढेर दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौं प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ महिना छ दिनको वस्तु आयात र १४ महिना छ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९ दशमलव एक प्रतिशत, एक सय २१ दशमलव नौं प्रतिशत र ३० दशमलव नौं प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया