‘ढुङ्गाना र तुलाधर बिना नेपालमा शान्ति सम्भव थिएन’
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउन र १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा पूर्वसभामुख दमननाथ ढुङगाना र पूर्वमन्त्री पद्मरत्न तुलाधरको विशिष्ट योगदान रहेको स्मरण गरिएको छ ।
तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १८ वर्ष पूरा गरेको अवसरमा शान्ति सम्झौतामार्फत द्वन्द्व व्यवस्थापन गर्दै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउन उनीहरुको योगदान सदासर्वदा स्मरण भइरहने धारणा व्यक्त गरिएको हो ।
अधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले तुलाधर आफैँ वामपन्थी भएकाले माओवादीसँगको भावनात्मक सम्बन्ध र निकटता रहेको उल्लेख गरे । उनले ढुङ्गानाको लोकतन्त्र र शान्ति प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता र इमान्दारीका कारण सत्तापक्ष र विद्रोहीलाई शान्ति सम्झौता ल्याउन सम्भव भएको प्रतिक्रिया दिए । उनले भने, ‘दुवै जना दिवङ्गत भइसके पनि नेपालको शान्ति प्रक्रिया अघि बढ्नुमा ढुङगाना र तुलाधरको अत्यन्त ठूलो योगदान छ भनी सबैले स्वीकार गरेको विषय हो ।’
स्वतन्त्र वामपन्थी तथा मानवअधिकारकर्मी तुलाधरको विसं २०७५ कात्तिक १८ गते र संविधानका ज्ञाता ढुङ्गानको यही मङ्सिर २ गते निधन भएको थियो । प्राध्यापक श्रेष्ठले उनीहरुले नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्दै मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताए ।
‘शान्ति प्रक्रियाको महत्वपूर्ण विशेषता भनेको नेपालीहरु आफैँले पहिल्याएको बाटो हो । अप्ठ्यारो परेका बेला जस्तोसुकै समस्या समाधान गर्न नेपाली आफैँ सक्षम छन् भन्ने सन्देश यसमार्फत विश्व समुदाय दिन सफल भएको छ ।’ पछिल्लो समय सङ्क्रमणकालीन न्यायका सम्बन्धमा संसद्मा निकै लामो बहस र छलफलपछि कानुन पारित भएको छ ।
सङ्क्रमणकालीन न्यायमार्फत द्वन्द्वको घाउलाई किनार लगाउन सकियोस् भन्नेमा तुलाधर र ढुङ्गाना चिन्तित हुनुहुन्थ्यो । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ फरक राजनीतिक अभ्यास गरिरहेका तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीलाई एकै ठाउँमा ल्याउन तुलाधर र ढुङ्गाले अथक मेहनत गर्नुभएको उनले स्मरण गरे । ‘मिल्न नसकेका दुवै पक्षलाई आपसमा विचार आदानप्रदान गरी मिलन बिन्दु पत्ता लगायर शान्ति प्रक्रियामा ल्याउन उहाँहरुको ऐतिहासिक योगदान थियो’, श्रेष्ठले भने, ‘त्यतिखेर उहाँहरुले मध्यस्थता नगरेका भए यति छिटो शान्ति प्रक्रिया ल्याउन असम्भव थियो ।’
उनीहरुकै पहलमा दुवै थरीलाई साझा मुद्दा पहिल्याइ शान्ति वार्ता हुँदै बाह्र बुँदे समझदारीसम्म ल्याउन सहयोग गरेका श्रेष्ठको भनाइ छ । ‘माओवादी संविधानसभाभन्दा तल नमान्ने, अन्य दल संसदीय व्यवस्था नछाड्ने, माओवादीलाई बहुदल र संसदवादी दललाई संविधानसभा मान्न लगाउने गरी मिलन बिन्दु पहिल्याउन उहाँहरुको योगदान छ’, उनले भने, ‘तुलाधर र ढुङ्गाना बिनाको शान्ति सम्झौताको परिकल्पना गर्न सकिँदैनथ्यो, पछाडि कुनै बिन्दुमा हुन्थ्यो होला, यति छिटै नेपालमा शान्ति नआउन सक्थ्यो ।’ रासस

प्रतिक्रिया