लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक

नेपालखोज २०८१ मंसिर ५ गते १८:१०

दोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको घेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने स्पष्ट पारे । ‘लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,’ गृहमन्त्री लेखकले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ ।’

मुलुकमा तीन/तीन महिनामा संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको उनको भनाइ थियो । गृहमन्त्रीले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ, यो सरकारको उद्देश्य देशमा स्थिरता कायम राख्ने र सुशासन कायम राख्नु हो ।’ उनले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताए ।

देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरूपले लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो । उहाँले पछिल्लो समय अपराधजन्य घटना वृद्धि भइरहेको बताए । ‘लागुऔषध अहिले सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको छ, युवाहरू लागुऔषधका कारण अपराधजन्य क्रियाकलाप भइराखेका छन्’, उनले भने, ‘यी समस्यालाई पनि गहिरो ढङ्गले अध्ययन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’

गृहमन्त्री लेखकले सुशासन कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताए ।

प्रतिक्रिया