आइतबार, असार २२, २०८२

नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

नेपालखोज २०८१ मंसिर ७ गते १९:३७

काठमाडौं । राजधानी काठमाडौंबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन हुनसकेको छैन ।

महानगरपालिकाले विसं २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि काठमाडौंभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।

काठमाडौंको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोबीखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायत चक्रपथ वरपर सडक तथा करिडोरबाट सञ्चालन हुँदै आएका सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

वडा नं २६ गोँगबुस्थित विष्णुमति नदी किनारामा रहेको आफ्नै स्वामित्वको एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने भनिएकामा केही सार्वजनिक सवारीसाधनले पालना केहीले भने अझै अटेर गरिरहेका छन् ।

नयाँबसपार्कको छेउमै रहेको माछापोखरीको आसपासबाट सार्वजनिक सवारीसाधन सञ्चालन भइरहे पनि उक्त सवारीसाधनलाई आफ्नै स्वामित्वमा रहेको नयाँबसपार्कभित्र ल्याउन महानगरपालिकाले सकिरहेको छैन । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताए ।

‘हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौँ तर यातायात व्यवसायीको सिन्डिकेटका कारण उक्त निर्णय कार्यान्वयनमा समस्या देखिएको छ’, उनले भने । महानगरपालिकाले उक्त सूचना निकालेपछि काठमाडौंबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् ।

यसअघि महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका एक सयभन्दा बढी बस टिकट काउण्टर हटाएको थियो । नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्कभित्र टिकट काउन्टरसमेत निर्माण गरिसकेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाप्रसाद चतुर्वेदी चक्रपथ वरपर तथा करिडोरमा अवैध रूपमा पार्किङ गरेर राखिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको बताए । ‘काठमाडौं महानगरपालिकाले ‘एक बसपार्क नीति’ लिएको छ, यसलाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ’, उनले भने ।

लामो तथा छोटो दूरीका सवारीसाधन गोङ्गबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले काठमाडौंभित्रको सवारी व्यवस्थापनलाई सहज हुने उनको भनाइ थियो ।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले नयाँबसपार्क सञ्चालन गरेको हो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कमा आठ सयको हाराहारीमा सार्वजनिक सवारीसाधन राख्न सकिन्छ । हाल तीन सयदेखि चार सयको हाराहारीमा मात्र सवारीसाधन पार्किङ गरी विभिन्न जिल्लामा आवतजावत हुँदै आएका छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा झण्डै १२ लाख सवारीसाधन सञ्चालनमा छन् । पछिल्लो समय मुलुकको राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

प्रतिक्रिया