मंगलबार, वैशाख १६, २०८२

वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता

नेपालखोज २०८१ मंसिर ८ गते १४:५०

वायनाड, केरला । केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय काङ्ग्रेसका उम्मेदवार प्रियङ्का गान्धी वाड्राले तीन लाखभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छिन् ।

गान्धीले चार लाख ६१ हजार ५६६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले एक लाख ५६ हजार ५६६ मत प्राप्त गरेको छ भने भारतीय जनता पार्टीका नव्य हरिदासले ८४ हजार ४९९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

महाराष्ट्र र झारखण्डको विधानसभा चुनावसँगै १४ राज्यका ४८ विधानसभा निर्वाचन क्षेत्र र लोकसभाका दुई सिटका लागि भएको उपनिर्वाचनको सम्पूर्ण परिणाम शनिबार नै आउने अपेक्षा गरिएको छ ।

लोक सभाका लागि काङ्ग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजिनामा दिएका थिए । गान्धीले वायनाडबाट तीन लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए । उनको स्थानमा प्रियङ्का गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

वायनाडबाहेक महाराष्ट्रको नान्देड लोकसभा सीटमा पनि उपनिर्वाचन भएको छ । भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार सन्तुकराव हाम्बार्डे दुई हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । दोस्रो स्थानमा काङ्ग्रेस उम्मेदवार रविन्द्र चव्हाण रहेका छज् ।

प्रतिक्रिया