कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारीसाधन गुडाउन अवरोध समेत गरेका छन् ।
निर्माण व्यवसायीले सडक कालोपत्रको काम लामो समयदेखि अगाडि नबढाएपछि सवारीका कारण उड्ने धुलो स्थानीय बासिन्दा समस्यामा परेका छन् । ‘सडक कालोपत्र अगाडि बढाउनुपर्यो, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्यो’। स्थानीय दिनेश कुँवरले भने, ‘सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ । धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनले बताए । उनीहरूलाई बिरामी हुनबाट जोगाइदिन आग्रह पनि गरेका छन् । विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुने गरेका स्थानीय नरबहादुर ऐरले बताए ।
सडक कालोपत्र अगाडि बढाउन पूर्वाधार विकास कार्यालय र शुक्लाफाँटा नगरपालिकासम्म आग्रह गर्दै आए पनि सुनवाइ नभएको उनले बताए । धुलोले समस्या सृजना गरी बिरामी पर्न थाले पनि जनप्रतिनिधि हालचाल बुझ्न नआएको स्थानीय बासिन्दाले गुनासो पोखे । सडकको धुलोको जबसम्म व्यवस्थापन हुँदैन, तबसम्म सडकमा सवारीसाधन गुडन नदिने स्थानीय बासिन्दाले बताएका छन् । कलुवापुर–बेलौरी सडक सुदूरपश्चिमको गौरवको योजनामा समावेश गरिएको छ ।
सडकको कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुनसकेको छैन । सोही सडकको ढक्का चाँनदेउबाट कालागौंडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र छ ।
बन्साहबाट कलुवापुर सडक कालोपत्र गर्न एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । बहुवर्षीय ठेक्का सम्झौताअनुसार सो कामका लागि निर्माण व्यवसायी छनौट गरिएको थियो ।
प्रतिक्रिया