बिहीबार, असार ५, २०८२

खेलकुद सम्बन्धी संगठनात्मक संरचनामा दोहोरोपन नहुनेगरि पुनसंरचना गरिने

नेपालखोज २०८१ मंसिर १३ गते १९:१७

काठमाडाैं । युवा तथा खेलकुद सम्बन्धी संगठनात्मक संरचनामा दोहोरोपन नहुनेगरि तीनै तहमा संगठनको पुनसंरचना गरिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संघ, प्रदेश र स्थानीय तह(समन्वय तथा अन्तरसम्बन्ध)ऐन अनुसार गठित युवा तथा खेलकुद क्षेत्रको बिषयगत समितिको बैठकले युवा तथा खेलकुद सम्बन्धी हाल भएको संगठनात्मक संरचनामा दोहोरोपन नहुने गरी संघ, प्रदेश र स्थानीय तहको संगठन पुनसंरचना गर्ने निर्णय गरेको हो । त्यस्तै संघीय प्रणाली अनुसार समायोजनको प्रक्रियामा जाने गरि आवश्यक तयारीका काम गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले यसै आर्थिक बर्षमा कर्णाली प्रदेशमा हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि आवश्यक पूर्वाधार निर्माण, प्रतियोगीता र खेलाडीहरुको व्यवस्थापनमा प्रदेश र स्थानीय तहले सहजीकरण गर्ने निर्णय गरेको छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको बिकासका लागि सरकारले धेरै काम गर्न खोजेपनि बिविध कारणले सफल हुन नसकेको बताए । उनले खेलाडीको सेवा सुविधा मुर्त रुप दिन नसकेको, खेलाडीको बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरे ।

त्यस्तै मन्त्री चोधरीले राखेपबाट मन्त्रालयमा प्रयाप्त सूचना नआएको धारणा राखे । उनले खेलकुद संघको चूनाव समयमा हुन नसकेको र पारदर्शी ढंगले चल्न समेत नरहेको बताए । छिटै प्रदेशहरुमा उचित दरवन्दीको व्यवस्था गर्ने उनले बताए । उहाले नेपालमा पूर्वाधार निर्माणका लागि दातृ निकाय इच्छुक देखिएपनि उचित ठाँउ दिन नसकेको बताए ।

विषयगत समितिले सवै प्रदेशहरुबाट राष्ट्रिय स्वयंसेवा नीतिको मस्यौदामा राय सुझाव लिइ स्वयंसेवा सम्बन्धी कार्यमा एकरुपता कार्यम गर्न राष्ट्रिय स्वयंसेवा नीति तर्जुमा गर्ने निर्णय गरेको छ । विभिन्न प्रदेशका खेलकुद मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, राखेप सदस्यसचिव लगाएतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया