अदम्य हिम्मतले उठेकी जमुना
बेनी (म्याग्दी) । सङ्घर्षबाट सफलता मिल्छ भन्ने जीवन्त उदाहरण बनेकी छिन्, ४४ वर्षीया जमुना आचार्य । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकमा जन्मिएकी उनलाई हुर्काउने र चिनाउने कर्मभूमि भने म्याग्दी हो । सुन्दा अचम्म लाग्न सक्छ, आचार्यका शरीरका केही अङ्ग कृत्रिम र अपूरा छन्, तर उनले पारिवारिक जिम्मेवारी र सामाजिक क्षेत्रमा गरेका योगदान प्रेरणादायी र प्रशंसनीय छन् । तीन वर्षको उमेरमा हात मर्किएर समयमै उचित उपचार नपाएर बायाँ हात गुमाएपछि आचार्य शारीरिक अपाङ्गता भएका थिए ।
क्यान्सर भएपछि गुमेको आचार्यको हातलाई सेती नदीमा बगाइएको थियो । विभिन्न समयमा शारीरिक रोग समस्याले शल्यक्रियामार्फत उपचार गराएकी आचार्यको कानको पछाडिपट्टि तीनवटा कृत्रिम हड्डी राखिएका छन् । हुर्कन नपाउँदै हात गुमाएकी आचार्यले जिन्दगीमा धेरै कुरा गुमाउनुपर्यो तर आफ्नै आँट, साहस र हिम्मतले उनी आफू आत्मनिर्भरमात्र बनिन्, परिवारकै बलियो खम्बा र समाजका लागि प्रेरणा र नमूना बन्न सफल भएकी छिन् ।
आमा चन्द्रवती र बुबा छवानन्द आचार्यका सात बहिनीमध्ये जेठी छोरी जमुनाको जीवनका उतारचढाव गरिबी, अभाव र समस्याका भारी बोकेका सङ्घर्षशील व्यक्तिका लागि प्रेरणा बन्ने गरेका छन् । हात गुमाएकी आचार्यले घरदेखि स्कुल टाढा भएकाले आधारभूत तहको अध्ययन गर्न पनि मुस्किल परेको थियो । अपाङ्गता भएकी आचार्यलाई स्कुल ल्याउन लैजान सहज नभएपछि आठ वर्षको उमेरदेखि मात्र उनले विद्यालयमा पठनपाठनका लागि पाइला टेकेकी थिइन्।
तत्कालीन फर्से धाइरिङ प्राविमा आधारभूत तह र बेनीस्थित प्रकाश माविबाट एसएलसी उत्तीर्ण गरेकी आचार्यले म्याग्दी बहुमुखी क्याम्पसबाट ‘बिएड’ र पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । विपन्न परिवारकी जेठी छोरी जमुनालाई शारीरिक अपाङ्गता भए पनि घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो खुट्टामा आफैँ उभिनुपर्ने दबाब थियो । अध्ययन गर्दैगर्दा २०५७ सालदेखि गैरसरकारी संस्था सिबिआर बागलुङबाट अपाङ्गता भएका बालबालिकाको शैक्षिक कार्यक्रमबाट आचार्यले जागिर गरेर जीविकोपार्जनको आधार खोज्न सुरु गरेकी थिइन् ।
आचार्य परिवारमा बुबा दमको रोगी भएकाले आमाले तरकारीखेती गरेर जेनतेन पालनपोषण र शिक्षादीक्षा गर्दै आएकी थिइन् । ‘घरको आर्थिक अवस्था अति नै कमजोर थियो, आम्दानीको कुनै स्रोत थिएन, आमाले खेतबारीमा तरकारी रोपेर बेनीका घरघरमा पुर्याएर बिक्री गरी घरखर्च चलाउथिन्, आमाको कमाइ घरपरिवारका लागि पर्याप्त थिएन, सरसापट पत्याउने समुदाय थिएन’, आचार्य विगतलाई सम्झदै भनिन् । समस्यासँग जुध्दै, अभावसँग खेल्दै आचार्य परिवारको सङ्घर्ष चलिरहेकै थियो, त्यसैमा २०६० सालमा आमा र एक बहिनीलाई खोलाले बगायो । आचार्य परिवारमा शोक, भोक र विपत्ति एकैसाथ सामना गर्नुपर्ने विडम्बना आयो ।
दुई आमाबाट दुई भाइ, आठ बहिनीसहित १० सन्तानमध्ये जेठी छोरी भएकाले आचार्यलाई घरपरिवारको जिम्मेवारीको भारी बोक्नुपर्ने बाध्यता आयो । जान्ने नहुँदै हात गुमाएकी जमुनाले आफू परिपक्व नहुँदै आमा र बहिनी गुमाउनुपर्यो । आमा गुमाउँदा अभिभावकत्व मात्र गुमेन, परिवारको आम्दानीको स्रोत पनि गुम्यो । बिरामी बुबाको हेरचाह र भाइबहिनीको पढाइलेखाइ र हुकाइको जिम्मेवारीको भारी जमुनाले नै बोक्नुपर्ने भयो । ‘दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु’ भन्ने कथनमा जस्तै जमुनाले आफ्नो जीवनलाई सङ्घर्षमय बनाएकै कारण आज समाजमा अग्रणी नारीको चिनारी बनाउन सफल भएकी छिन् ।
ग
प्रतिक्रिया