बलिउडका आगामी हरर कमेडी
काठमाडौं । सन् २०२४ हरर कमेडी फिल्मको नाममा थियो । ती फिल्ममा धेरै ड्रामा र हास्य देखियो भने निर्माताहरुले दर्शकहरुलाई निकै डरलाग्दो दृश्य पनि देखाए । ती चलचित्र हेरेर दर्शकहरु कहिले हाँसे त कहिले डरले आत्तिए । यहि कम्बोको परिणामस्वरूप यी चलचित्रमा धनको वर्षा भयो । बक्स अफिसको यहि रिपोर्टका कारण अहिलेसम्म धेरै ठूला हरर कमेडी फिल्मको घोषणा भैसकेको छ ।
अक्षय कुमार, प्रभास र कार्तिक आर्यनका फिल्म हलमा अब आउने ६ वटा बलिया हरर कमेडी फिल्ममा पर्छन् । यी ती चलचित्र हुन जसले यदि दर्शकहरुको अपेक्षा पूरा गरे भने, ‘स्त्री -२’ र ‘भूल भुलैया – ३’ का सबै रेकर्ड तोडिनेछन् ।
द राजा साब : प्रभासको फिल्म द राजा साब २०२५ को अप्रिल १० मा रिलिज हुनेछ । यो रोमान्टिक हरर कमेडी फिल्म हो । फिल्मको बजेट ४५० करोड भारतिय रुपैयाँ भएको बताइएको छ । रिपोर्ट अनुसार यो एक अर्कासँग प्रेममा परेका जोडीको कथामा आधारित चलचित्र हो जसको कथा अनुसार नकारात्मक ऊर्जाले उनीहरूलाई अलग गर्छ ।
थामा : स्त्रीका निर्माताहरूले आफ्नो अर्को हरर फिल्म घोषणा गरेका छन् । यो हरर कमेडी फिल्मको नाम पहिले भेम्पायर अफ विजयनगर थियो तर अब यसलाई ‘थामा’ मा परिवर्तन गरिएको छ । यो फिल्ममा रश्मिका मन्दना आयुष्मान खुरानाको अपोजिटमा देखिनेछिन् । यो फिल्म २०२५ को दिपावलीमा रिलिज हुने तय भएको छ । यो एउटा प्रेम कथामा आधारित चलचित्र हो जसमा रहस्य , हरर अनि कमेडिको तडका रहनेछ ।
ओए भूतनी के : मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्ती छिट्टै ठूलो पर्दामा डेब्यु गर्दैछन्। २५ डिसेम्बर २०२४ मा उनको हरर कमेडी चलचित्र ‘ओए भूतनी के’ रिलिज हुँदैछ । यो फिल्मको निर्देशन अजय कैलाशले गरेका हुन्। यो चलचित्रलाई लिएर निर्माताहरु निकै उत्साहित छन् ।
देवी : ‘स्त्री – २’ का निर्माताहरू नयाँ फ्रेन्चाइजी सिर्जना गर्ने योजनामा छन्। रिपोर्ट अनुसार उनीहरू ‘देवी’ को निर्माण गर्ने तयारिमा छन् र यो चलचित्रमा कियारा आडवाणीको नाम समेत जोडिएको छ । यद्यपि, ‘देवी’ को सामग्री र कथानक पनि पूर्णतया फरक हुनेछ यसको ‘स्त्री – २’ सँग कुनै सरोकार रहने छैन । देवी हरर कमेडी चलचित्र हुनेछ । यो फिल्मको छायांकन २०२५ मा सुरु हुने बताइएको छ।
भूत बंगला : दर्शकहरू अक्षय कुमारलाई हरर कमेडी फिल्ममा हेर्न उत्सुकतासाथ पर्खिरहेका छन्। भूत बंगलामा उनले १४ वर्षपछि प्रियदर्शनसँग काम गर्न लागेका हुन्। भूत बंगला वर्ष २०२५ मा रिलीज हुनेछ । यो चलचित्रको पोस्टर हेर्दा यसले धेरै रेकर्ड तोड्ने अनुमान गर्न सकिन्छ ।
भुल भुलैया – ४ : हालसालै कार्तिक आर्यनको फिल्म ‘भुल भुलैया – ३’ रिलिज भएको थियो । यो चलचित्रले ठूलो सफलता प्राप्त गर्यो र अब यसको चौथो भागका सम्बन्धमा पनि छलफल सुरु भएको छ । अनीस बज्मी आफैले भनेका छन- ‘भूलभुलैया -४’ को निर्माण चाडैं सुरु हुनेछ। तर यसका लागि योजना पनि ठूलै छ । रिपोर्ट अनुसार भूलभुलैया -४ मा अक्षय कुमारको पुनरागमन हुन सक्छ।
प्रतिक्रिया