मंगलबार, वैशाख १६, २०८२

राष्ट्रसङ्घले सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

नेपालखोज २०८१ मंसिर १९ गते १४:५३

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘चिन्ता’ का साथ हेरिरहेको स्वीकारेका छन् ।

गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठूलो क्षति पुर्याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपतकालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।

फ्लेचरले भने, ‘हामी अहिले विश्वव्यापी रूपमा कैयौँ–सङ्कटको सामना गरिरहेका छौँ र यो सहयोग विश्वमा बढी सङ्कट झेलिरहेका सबैभन्दा कमजोर मानिसहरूका लागि हो । जलवायु परिवर्तन र द्वन्द्वका कारण सिर्जित असमानताले आवश्यकताको ‘व्यापक माग’लाई निम्त्याएको छ।

’ग्लोबल ह्युमेनिटेरियन ओभरभ्यु’को शुभारम्भ गर्दै फ्लेचरले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले खाँचोमा परेका सबै व्यक्तिसम्म पुग्न नसक्ने बताए ।

संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य मानवीय संस्थाहरूले सन् २०२५ का लागि ४७ अर्ब ४० करोड अमेरिकी डलर माग गरेका छन्, जुन यस वर्षको अपिलभन्दा केही कम हो।

विश्वभरका मानवीय कार्यमा ‘दातृ निकायको थकान’ले सहायता कार्यक्रमलाई असर गरिरहेको तर्फ इङ्गित गर्दै उनले ‘यथार्थपरक’ योजना तयार पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसका लागि प्राथमिकता र ‘वास्तवमै कठिन, कठिन छनौट’ को आवश्यकता पर्छ।’

गत महिनासम्ममा यस वर्षका लागि ५० अर्ब अमेरिकी डलर को अपिलमध्ये ४३ प्रतिशत मात्र पूरा भएको थियो ।

प्रतिक्रिया