नरहरिनाथको घ्यूले बजार पाएन

नेपालखोज २०८१ मंसिर २१ गते २०:३२

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् ।

वडा नं ९ लालुका भैँसीपालक किसान रजबहादुर शाहीले आफूहरूले उत्पादन गर्ने दूध, दही र घ्यूूले बजार पाउन नसकेको बताए । ‘मैले जन्मेदेखि नै भैँसीपालन गर्दै आएको छु । विगतमा हामीले उत्पादन गरेको घ्यू बर्दियाको राजापुर र कैलालीको चिसापानी बजारमा लगेर बेच्ने गरेका थियौँ तर बजारमा आउने नयाँ, नयाँ आधुनिक तेलहन वस्तुका कारणले पनि घ्यूको महत्व घटेको होला, अचेल बिक्री हुँदैन’, उनले भने ।

यस क्षेत्रमा प्रशस्त चरिचरन क्षेत्र भएका कारण अधिकांश परिवारले पशुपालन गर्ने गरेको तर दुग्धजन्य उत्पादनले बजार नपाउँदा समस्या भएको वडा नं ७ का किसान रामबहादुर बटालाले गुनासो गरे ।

गाउँपालिका–५ रुप्साका कृषक रणबहादुर सहकारीले सबैको घरमा पशुपालन हुने भएकाले स्थानीयस्तरमा उत्पादन बिक्री नहुने र बाहिर पनि खासै बजार व्यवस्थापन गर्न नसकिएको बताए ।

गाउँपालिका पशु सेवा शाखा प्रमुख कटकबहादुर बुढाले पनि यहाँका अधिकांश किसानले गाईभैँसी पालन गरिरहेकाले बजार पाउन कठिनाइ भएको बताए । गाउँपालिकाका पूर्वअध्यक्ष धीरबहादुर विष्टले स्थानीय उत्पादनको बजारका लागि पालिकाले नै व्यवस्थापन गर्न जरूरी रहेको बताए ।

प्रतिक्रिया