आइतबार, माघ ६, २०८१

हेगमा बिष्फोटपछि भवन भत्किँदा कम्तीमा एकको मृत्यु, चार घाइते

नेपालखोज २०८१ मंसिर २२ गते २१:०५

द हेग । नेदरल्याण्डको प्रसिद्ध शहर ‘द हेग’ मा स्थानीय समय अनुसार शनिबार बिहानै विष्फोटपछि भएको आगलागीमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य धेरै व्यक्ति फसेको आशङ्कामा तत्काल उद्धार तथा खोजी कार्य शुरू भएको छ ।

Advertisement

द हेग शहरका नगर प्रमुखले विस्फोट र आगलागीका कारण भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको बताउनुभएको हो । नगर प्रमुख यान भान जानेनले भने, ‘भग्नावशेषबाट एक जनाको शव निकालिएका छ ।’

हेगस्थित तीन तले आवासीय भवनको एउटा भाग भत्किएको र भग्नावशेषमा खोजी कुकुरसहित उद्धारकर्मीहरूले उद्धारका लागि काम गरिरहेका छन् । विस्फोटको कारण तत्काल स्पष्ट नभए पनि विस्फोटभएको केही समयपछि नै घटनास्थलबाट तीव्र गतिमा आउँदै गरेको कारबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।

घटनामा कम्तीमा पाँच वटा घरमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् तर कति घर भग्नावशेषमा फसेका हुन् समाचार तयार पार्दासम्म पुष्टि हुन सकेको छैन । आपतकालीन सेवाहरूले भवन भत्किएपछि चार जनालाई अस्पताल पुर्याएको थियो ।

अग्निनियन्त्रकहरूले आगो निभाएपछि भारी निर्माण उपकरणहरू भग्नावशेष सफा गर्न घटनास्थलमा खटिएका छन् । स्थानीय १४ वर्षीय एडम मुलरले घटनाबारे एएफपीसँग भने, ‘म सुतिरहेको थिएँ । अचानक ठूलो विस्फोट भयो । मैले झ्यालबाट बाहिर हेरेँ र आगोको ज्वाला देखेँ । विष्फोटले हाम्रो घरमा पनि ठूलो झट्का दिएको थियो ।’

घटनापछि स्थानीय अधिकारीहरूले घटनास्थल वरपरका घरका झ्याल र ढोका बन्द गरी घरभित्र नै सुरक्षित बस्न आग्रह गरेका छन् । घटनास्थलमा अनुसन्धान अधिकारीहरू पुगी घटनाबारे जानकारी लिएका छन् ।

प्रहरीले घटनास्थलबाट भागिरहेको कारलाई देखेको भनेका व्यक्तिसँग भेट्ने र नजिकका सिसिटिभी क्यामराको रेकर्डलाई हेर्ने काम गरिरहेको बताएको छ ।

प्रतिक्रिया