‘समयानुकूल गुणस्तरीय शिक्षा आवश्यक’
गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समयानुुकूल गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) कास्कीद्वारा आयोजित प्याब्सन स्पोर्टस् मिट–२०८१ को आज आयोजित समापन समारोहमा प्रदेश प्रमुख भट्टले अबको युग प्राविधिक दक्षतायुक्त व्यक्तिको युुग भएकाले प्राविधिक ज्ञानसहितको शिक्षाको विकल्प नरहेको बताए ।
शिक्षालाई प्रविधिसँग जोड्दै विद्यार्थीलाई समय सुहाउँदो दक्ष नागरिक उत्पादनमा निजी विद्यालय सफल हुने उनले विश्वास व्यक्त गरे ।
शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले देशप्रति गर्व गर्ने योग्य नागरिक उत्पादन गर्न निजी विद्यालयको भूमिका हुने बताए ।
‘विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि निजी विद्यालयहरुले उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ’, उनले भने, ‘शिक्षा क्षेत्रमा राज्यको एक चौथाइ भार बहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सक्नुुपर्छ ।’
समयानुकूल परिमार्जित शिक्षा उपलब्ध गराउनका लागि शिक्षकहरूलाई तहगत तालिम, शिक्षक तथा कर्मचारीलाई राज्यले तोकेबमोजिम श्रमको मूल्य प्रदान गर्नतिर पनि निजी क्षेत्रको ध्यान जानुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिए ।
विद्यार्थीलाई खेलकुदमा जोडेर उनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर यस्ता कार्यक्रमबाट मिल्ने भन्दै उहाँले निजी विद्यालयहरू राज्यका महत्वपूर्ण सहयोगी अङ्गका रुपमा रहेको उल्लेख गरे ।
प्रतिक्रिया