बुधबार, पुष २, २०८२

वर्षा नहुँदा हुम्लाका किसान चिन्तित

नेपालखोज २०८१ मंसिर २४ गते ६:२९

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् ।

कात्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो हप्तादेखि खेतबारीमा गहुँ, जौ र उवा छर्किए वर्षा नहुँदा उम्रिन नपाएको किसानको भनाइ छ ।

उम्रिएका बोट लामो समयसम्म वर्षा नभएपछि खेतमै सुक्ने चिन्ताले सताएको यहाँका किसानको गुनासो छ । विगतमा यतिबेला खेतबारीमा गहुँ बाली उम्रिएर हरियो हुने गरेको भए पनि यसवर्ष लामो समयसम्म वर्षा नहुँदा कृषकले चिन्ता व्यक्त गर्न थालेका छन् ।

जिल्लाका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्ने भएकाले खेतबारीमा लगाइएको गहुँ पानी नपर्दा खेर जाने अवस्थामा पुगेको ताँजकोट गाउँपालिका–३ का लखन मल्लले बताए ।

खेतीबारीबाट कात्तिके बाली भित्र्याए लगत्तै गहुँ, जौ, उवा, मोटर, मुसुरलगायत अन्य बाली लगाइएको भए यतिबेलासम्म नउम्रिदा यो वर्ष खाद्यान्न सङ्कट हुने चिन्ता रहेको मल्ल बताउँछन् ।

जिल्लामा सिँचाइको पर्याप्त व्यवस्था नभएकै कारण किसानले खडेरीको मार खेप्नुपरेको सिमकोट गाउँपालिका–४ बुराउँसेका मिरा लामाले बताए । रासस

प्रतिक्रिया