अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित झापा कचनकवल गाउँपालिका–७ ठेगाना भएका २७ वर्षीय छिरिङ लामा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ शिक्षा कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका–२ बस्ने २४ वर्षीय ज्ञानु धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा ९ किलो ८ सय ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–४ झ्याके बस्ने ५२ वर्षीय प्रताप सिंह मोक्तान र उनकै श्रीमती ५० वर्षीया राम माया मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने गोरखा घर भएका ४९ वर्षीय खड्ग बहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ आठकिलो बस्ने साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–२ तातोपानी बस्ने ३० वर्षीय होम बहादुर गुरूङ समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रविसे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ६ सय ८४ रूपैयाँ र ज्याक्पट क्यासिनो मेसिन २ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया