सोमबार, वैशाख १५, २०८२

युक्रेन सङ्कट समाधान आफ्नो पहिलो प्राथमिकता भएको ट्रम्पको भनाइ

नेपालखोज २०८१ मंसिर २६ गते १४:४८

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

मलाई लाग्छ हामीले रूससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ, अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार रेकर्ड गरिएको एक अन्तर्वार्तामा भने ।

‘ती दुवै देशले ठूलो सङ्ख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौं सैनिक मारिएका छन्,’ ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भने ।

‘मध्यपूर्व निश्चित रूपमा एक ठूलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रूससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो,’ ट्रम्पले भने।

उनले भने, ‘तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू मरिरहेका छन्।’

ट्रम्प सन् २०१९ मा भएको भीषण आगलागीपछि ‘नोट्रे डम क्याथेड्रल’ पुनः सञ्चालनका लागि शनिबार पेरिस आएका थिए । फ्रान्स भ्रमणका क्रममा उनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया