शुक्रबार, माघ ११, २०८१

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

नेपालखोज २०८१ मंसिर २९ गते २०:५५

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ३ सय ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ गोठाटार घर भएका २४ वर्षीय सौगात दाहाल र मुगु खप्तड गाउँपालिका–४ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने २४ वर्षीय कविराज शाही रहेका छन् । अस्थायी प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले बा.प्र–०२–०४४ प ५८५२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

Advertisement

काठमाडौंको नागार्जुन नगरपालिका–५ छकडोल बस्ने शिव पुतुवारलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ८ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट हलचोकबाट खटिएको प्रहरीले उनको टहराबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ग्राम सहित धादिङ थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय मंगले तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका– २२ बस्ने ६१ वर्षीय राजेन्द्र कुमार गोडिया, ३२ वर्षीय यमुजिव खान र २६ वर्षीय मोहिद अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पाल्पाको रामपुर नगरपालिका–७ कठान बस्ने ५१ वर्षीय कपिल रिजाललाई अवैध लागूऔषध गाँजा करिब ९ सय १६ ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका–४ सदावर्त बस्ने ६३ वर्षीया गीता लम्सालको घर तलासी गर्दा करिब ८ सय ९० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ हर्दियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्राम सहित कमलामाई नगरपालिका–४ सन्तोष भन्ने यम बहादुर खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.२ ख ७०७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले शंकास्पद १ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका–९ सलकपुर बस्ने २४ वर्षीय अभिषेक बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १११० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अभिषेकलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया