सिरक डसना बनाएर मनग्य आम्दानी

नेपालखोज २०८१ पुष १ गते १०:४०

बरहथवा (सर्लाही) । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।

सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए । रफिकका दुई छोरा सोही काममा वैदेशिक रोजगारीमा छन् । उनको एक छोरा ट्र्याक्टरमा पुरानो लुगा पेलेर सिरक डसना बनाउने काम गर्दै विभिन्न स्थान पुग्ने गरेका छन् । मोहमद भने गाउँ तथा नजिकैको बजार क्षेत्रमा सिरक डस्ना बनाउने काम गरे ।

यस कामबाट आम्दानी राम्रो हुने गरेको हरिपुर–५ का कालीगढ हसन मन्सुरले बताए । ‘सिरक डसना बनाउने काम परम्परागत हुँदै हामीले सिकेका हौँ’, उनले भने, ‘व्यापारीले काम दिएको बेला बजारतिरै काम गर्छौं । बाँकी समय गाउँगाउँमै पनि पुग्ने गरेका छौँ ।’

धनुषा, पर्सा, काठमाडौंसम्म पुगेर सिरक डसना बनाउने काम गरेको रफिकले बताए । उनका अनुसार एक जना कालीगढले दिनमा सात वटासम्म सिरक वा डसना बनाउन सक्छन् । पसले वा स्थानीयबाट लम्बाइ र चौडाइ हेरेर एउटा सिरक वा डसना बनाएको कम्तीमा रु सात सय ज्याला लिने गरेको उनले बताए ।

प्रतिक्रिया