पातिचौर-बाजुङ-लेसपार-नागी सडक स्तरोन्नति

काठमाडाैं । मार्ग खुलेको झण्डै दुई दशकपछि पातिचौर-बाजुङ-क्याङ-लेसपार-नागी सडक स्तरोन्नतिको काम भइरहेको छ ।
एसियाली विकास बैंक (एडिबी)को सहयोगमा आरसिआइपी परियोजना पोखरामार्फत सडकको स्तरोन्नति थालिएको हो । करिब २८ किलोमिटर लामो यो सडक झन्डै ५४ करोड ९० लाख ४२ हजार ९७० रूपैयाँको लागतमा स्तरोन्नति थालिएको हो ।
यो अहिले जिल्लामा सञ्चालित सडक आयोजनामध्ये सबैभन्दा ठूलो रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए। मार्ग खुलेको लामो समयसम्म पनि सडक स्तरोन्नति नहुँदो मोदीका वडा नंं ५ र ४ का बासिन्दा कष्टकर रूपमा यात्रा गर्न बाध्य भएका थिए । स्तरोन्नतिअन्तर्गत अहिले चक्लाबन्दी गर्ने, नाली बनाउने, ग्याबिन जाली, टेवा पर्खाल निर्माणलगायत काम भइरहेको उपाध्यक्ष लामिछानेले जानकारी दिए ।
चौबिस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत २९ गते एमएस बाँनिया निर्माण सेवा प्रालि हेटौँडाले निर्माणको जिम्मा पाएको छ । अहिले स्तरोन्नतिका लागि पर्याप्त जनशक्ति राखेर काम गरिरहेको निर्माण व्यवसायीले जानकारी दिएका छन् ।
दुई वर्षमा कालोपत्रसहित सम्पन्न हुने सडकले छिमेकी जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र नागीलाई समेत जोड्नेछ । यसले पर्यटकीय र अन्य रणनीतिक महत्त्व बोकेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए । विशेषगरी पर्वतको जलजला, हम्पाल, माटे हुँदै म्याग्दीका नागी, मोहोरेडाँडा, पुनहिललगायत क्षेत्रमा जाने पर्यटकलाई पनि सडकले राहत मिल्ने अपेक्षा गरिएको छ ।
योसँगै मोदी गाउँपालिकामै अर्को सडक कालोपत्रको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत करिब ४२ करोड रूपैयाँको लागतमा निर्माणाधीन रतिखोला-दराक-चित्रे-गँगटे सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि द्रुतगतिमा भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । करिब १२ किलोमिटर लामो यो सडक दुई वर्षभित्रमा कालोपत्रसहित सम्पन्न हुनेछ ।
दुवै सडकको सङ्घीय सांसद तथा पूर्वमन्त्री पदम गिरीले अनुगमन गरे । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गरेका छन् । उनले तोकिएकै समयमा निर्धारित गुणस्तर अनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिएका छन् ।
प्रतिक्रिया