औषधीको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका हुन् ।
विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीको ध्यानाकर्षण गराए ।
पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुने पछि उनले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे । ‘बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखनाको औषधी बिक्री हुने रहेछ,’ उनले भने, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’
मन्त्री पौडेललाई कर्मचारीले श्रोत अभाव भएको गुनासो गरे पछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानलाई पूँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे ।

प्रतिक्रिया