सोमबार, माघ २८, २०८१

डबल रोलको डबल धमाका

नेपालखोज २०८१ पुष ४ गते १५:३०

कहिले दोहोरो, कहिले तेहोरो वा त्योभन्दा पनि बढी… भारतीय सिनेमामा एउटै अभिनेताले एक्लै १० वटा सम्म भूमिका निर्वाह गरेका छन् । यस्ता चलचित्रले दर्सकबाट पनि राम्रै प्रतिक्रिया पाएका छन । यस्तो अवस्थामा निर्माताहरू पनि यहि फर्मुला अन्य चलचित्रमा समेत प्रयोग गर्छन् । आउने केही वर्षमा यस्ता धेरै मेगा बजेटका फिल्महरू हेर्न पाइनेछ जसमा बलिउडका सुपरस्टारहरू डबल र ट्रिपल भूमिकामा देखिनेछन् ।

Advertisement

यो सूचीमा दक्षिण मात्र होइन बलिउड चलचित्रहरू पनि समावेश छन् । यी चलचित्रमा चार जना सुपरस्टार डबल र ट्रिपल रोलमा देखा पर्नेछन । यो सूचीमा रणवीर कपूर, रामचरण, प्रभास तथा महेश बाबू जस्ता कलाकारहरू समावेश छन् । हेरौं अब आउने यस्ता फिल्महरू कुन – कुन हुन जसमा दोहोरो भूमिकाको कथा हेर्न पाइनेछ ।

दोहोरो भूमिकामा कलाकारहरू

प्रभास : सन् २०२४ मा १६०० करोडको फिल्म दिएपछि प्रभासले आफ्नो आगामी प्रोजेक्ट सुरु गरिसकेका छन् । उनको खातामा धेरै ठूला चलचित्र पनि छन् जसमध्ये एक हो – सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’। यसमा प्रभासको डबल रोल छ । यो फिल्मको बजेट ८ सय करोड भएको बताइएको छ । प्रभासले स्पिरिटमा निर्वाह गर्ने दोहोरो भूमिका मध्ये एउटा प्रहरीको हुनेछ भने अर्को भूमिका नकारात्मक चरित्रको हुनेछ । यद्यपि निर्माताहरूले यसलाई पुष्टि गरिसकेका छैनन् ।

रणवीर कपूर : बलिउडमा अहिले कपूर परिवारका यी सुपुत्रको डंका बजिरहेको छ । उनको पक्षमा यस्तो वातावरण बनाउने काममा महत्वपुर्ण भुमिका चलचित्र एनिमलको छ । यो सन्दीप रेड्डी वांगाको फिल्म हो । सन्दीप रेड्डी वांगाकै अर्को फिल्मका बारेमा रणवीर कपूरले आफ्नो एउटा अन्तर्वार्तामा खुलासा गरेका थिए। फिल्मको बजेट नबताइए पनि यो फिल्मको छायांकन २०२७ मा सुरु हुने कुरा पुष्टि भैसकेको छ । एनिमल पार्क शिर्षकको यो चलचित्रमा रणवीर कपूरले दोहोरो भूमिका निर्वाह गर्ने छन् – एउटा नायक र अर्को खलनायकको ।

राम चरण : २०२५ को सुरुमै रामचरणको एउटा ठुल‍ो चलचित्र प्रदर्शनमा आउँदैछ । उनको आगामी चलचित्र ‘ गेम चेन्जर ’ ले राम्रो वातावरण पनि सिर्जना गरेको छ । यसक‍ो टिजरबाट पनि यो फिल्ममा रामचरण दोहोरो भूमिकामा रहेको प्रष्ट हुन्छ । गेम चेन्जरमा रामचरणको पहिलो भूमिका बाबुको हुनेछ भने दोस्रो भूमिका छोराको हुनेछ । रामचरण बुबाको भूमिकामा राजनीतिज्ञ बनेका छन भने छोराको चरित्रमा आइएस अधिकारी । य‍ो फिल्मको बजेट करिब ८०० करोड रुपैयाँ रहेको बताइएको छ ।

रणवीर कपूर : यो सूचीमा रणवीर कपूरको नाम फेरि आएको छ । रणवीर सवा १३ सय करोड माथिको चलचित्र ‘रामायण’ मा देखिदैछन् । यो फिल्मको निर्देशन नीतेश तिवारीले गर्दैछन जसको पहिलो भाग सन् २०२६ को दिपावलीमा रिलिज हुनेछ । यो फिल्ममा रणवीरले दोहोरो भूमिका निर्वाह गरेका छन् । भगवान राम बनेसँगै उनले परशुरामको भूमिका पनि निर्वाह गर्नेछन् ।

महेश बाबु : भारतीय सिनेमाको सबैभन्दा महँगो फिल्म भनिनदैछ चलचित्र SSMB29 लाई । निर्माताहरूले यो फिल्मका बारेमा अहिलेसम्म कुनै अपडेट दिएका छैनन् । यद्यपि यो चलचित्रको चर्चाको पनि अन्त्य भएको छैन । केही समयअघि महेश बाबुले १६०० करोडको यो फिल्ममा दोहोरो भूमिका निर्वाह गर्ने कुरा सार्वजनिक भएको थियो ।

प्रभास : ‘स्पिरिट’ पछि फेरि पनि प्रभासकै चर्चा चलिरहेको छ । अर्को वर्ष अर्थात् २०२५ मा प्रभासको चलचित्र ‘राजा साब ’ प्रदर्शनमा आउँदैछ । यो फिल्मको बजेट ७५० करोड रुपैयाँ माथि भएको बताइएको छ । यो एउटा हरर कमेडी चलचित्र हो जसका लागि दक्षिणका दर्शकहरू निक्कै उत्साहित छन् । केही समयअघि सार्वजनिक भएको रिपोर्ट अनुसार यो फिल्ममा प्रभास तेहोरो भुमिकामा प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया