हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

नेपालखोज २०८१ पुष ६ गते १८:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का निम्ति करिब २० करोड रुपैयाँ बजेट वृद्धि गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकबाट चालु आव २०८१/८२ का निम्ति विनियोजित बजेटमा १९ करोड ९७ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय गरिएको हो ।

गएको असार १० गते उपमहानगरपालिकाको नगरसभाबाट चालु आव २०८१/८२ का निम्ति दुई अर्ब ५२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । 

चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । 

हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ । उक्त अवधिमा चालु आव २०८१/८२ को कुल बजेटमध्ये २१.१२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया