भूपी शेरचन प्रति हार्दिक श्रद्धाञ्जली !

काठमाडौं । भूपी शेरचनको जन्म बि.सं. १९९२ पौष १० गते मुस्ताङ जिल्लाको टुकुचामा भएको थियो । जन्मको नाम भूपेन्द्रमान शेरचन भए पनि सुरुमा भूपेन्द्रमान शेर चन्द “सर्वहारा” नामबाट कविता लेखेका थिए । घुम्ने मेच माथि अन्धो मान्छेको प्रकाशन गर्दा भूपी शेरचन लेख्न थालेका हुन् र यहीँ नामले सर्वाधिक चर्चित पनि भए ।
राणाकलामा बि.सं. १९०७ तिर जङ्गबहादुरले सरकारी कर्मचारीलाई थाक खोलामा थकालीहरूलाई भरियाको रूपमा भर्ना गर्न पठाए तर कोबाङका बलवीर तथा धन्साराम थकालीले त्यस विरुद्ध उजुरी गरे । त्यसपछि थकालीलाई सैनिकको रूपमा मात्र राख्ने त्यस बेलाको राणा सरकारले सम्झौता गरे । बलवीर थकालीले भोटसँगको युद्धमा दोभाषेको रूपमा काम पाए । यो जङ्गबहादुर को समय थियो । युद्धमा उनको योगदानलाई कदर गर्दै बौद्ध धार्मिक ग्रन्थ काङ्ग्यूर र टेङ्ग्यूरको पाण्डुलिपि उपहार दिए । १९१७ मा भोटको नुन तथा अन्य बस्तुको बिक्रीको कर उठाउने ठेकदारी पाएका चम्पासिंह खड्का क्षेत्रीको सहयोगीको रूपमा बलवीरले काम पाए । उनलाई विभिन्न आरोपमा समातेर जेलमा राख्दा भागेर काठमाडौँ गई जङ्गबहादुर लाई बिन्तिपत्र चढाए पछि उनका दुस्मनहरू सबै समातिए साथै व्यापारको सीमा पनि कास्कीसम्म भयो । यही समयमा २१६ थकाली परिवारहरू थाक खोलाबाट बाहिर कास्की तथा लमजुङमा बसाइ सरे । बि.सं. १९२५ मा दानामा भोटको व्यापारको भन्सार रकम उठाउने ठेकदारी यिनै बलवीर थकालीले पाए पछि परिवारको जीवन स्तर निकै उकासिन थाल्यो ।
यिनै बलवीर थकाली नै भूपी शेरचनका बुढा जिजु बाजे हुन् । उनका जिजु बाजे कविराम कोवाङबाट टुकुचामा बसाइ सरेका थिए । थाक खोला, कोवाङ तथा टुकुचामा सर्वाधिक धनी तथा राणाबाट सुब्बाको पद पाएका परिवार भएकोले भूपीको शान पनि कुनै राणाको भन्दा कम थिएन ।
उनकै जेठो दाजु अनंगमान शेरचनले पनि निकै समय भैरहवा भन्सारको ठेकदारी पाएका थिए । यसरी पारिवारिक रूपले सम्पन्न भूपीले भने बाल्यकाल रमाइलो गरी बिताउन पाएनन् । उनी भन्दा माथि चार छोराको जन्म भइसकेकोले उनका बाबु हितमान शेरचन छोरीको चाहनामा थिए । तर छोराको जन्म त्यो पनि मूल (औँसी) मा परेको भनी बाबुको उपेक्षा रह्यो । एउटै माया गर्ने आमाको पनि पाँच वर्षको हुँदा नै मृत्युले अझ मायाको अभावमा हुर्किए । १०-१२ वर्षको उमेरबाटै बनारस पढ्न गएका उनको त्यहिँबाट नै चुरोट तथा रक्सीको लत लाग्यो । यही नै मार्क्सवादी चिन्तनको प्रभावमा परे जसको असर उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ ।
२०१२ मा सानै उमेरमा पारिवारिक दबाबमा विवाह बन्धनमा बाँधिएका उनी पछि स्वेच्छाले राणा परिवारसङ विवाह बन्धनमा गाँसिए । जेठी श्रीमती ओमकुमारीसङ लामो जीवन बिताएका थिए । उनका साथ ६ सन्तानको जन्म पनि भयो । एक छोरा र पाँच छोरी ओमकुमारीबाट नै भयो । तर कान्छी छोरी जन्मेको केही समय पछि पोखराकै राणा परिवारकी छोरी कान्ति राज्यलक्ष्मी राणासँग विवाह गरेर काठमाडौँ लागे ।
चालीस हजारमा बाबु हितमान शेरचनले किन्नु भएको राणा वडा हाकिम धनशम्शेरको पोखराको सेतो दरबार नै उनको निवास भए पनि कान्छी विवाह गरे पछि अधिकांश समय काठमाडौँ नै बसे । उनले आफूलाई यसरी वर्णित गर्थे “औँसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिष्ठ हुनु”।
यसरी विभिन्न आरोह अवरोह पछि २०४६ जेठ १ गते सदाको लागी संसारबाट बिदा लिए ।
प्रतिक्रिया