शुक्रबार, वैशाख १२, २०८२

तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु

नेपालखोज २०८१ पुष ११ गते २०:००

प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ ।

दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले एएफपीसँग कुरा गर्दै युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा चिसो यामसँगै ‘तापक्रममा आएको अत्यधिक गिरावट’का कारण यस साता तीन शिशुको मृत्यु भएको बताएका हुन् ।

खान युनिस शहरको नासिर अस्पतालका डाक्टर अहमद अल–फर्राले तीन हप्ताकी एक बालिकालाई ‘अत्यधिक तापक्रम घटेपछि आकस्मिक कक्षमा ल्याइएको’ र उनको उपचारका क्रममा मृत्यु भएको बताएका छन् । अस्पतालको बाल सेवा विभागका प्रमुख फर्राले मङ्गलबार आफ्नो टोलीले हेरेका अन्य दुई घटनाको पनि उल्लेख गरेका छन् ।

मृत्यु भएकी तीन हप्ताकी बालिका सिला अल–फसीह खान युनिस नजिकै भूमध्यसागरीय तटमा रहेको अल–मावासी टेन्ट शहरमा बस्दै आएका छन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीका क्रममा गाजा पट्टीका २४ लाख बासिन्दामध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भएका छन् ।

इजरायलको मौसम सेवाका अनुसार हालैका दिनहरूमा गाजाको तापक्रम रातको समयमा आठ डिग्री सेल्सियससम्म झरेको र युद्धका कारण घरबास गुमाएका प्यालेष्टिनीले चिसोमा पनि पालमा बस्नुको विकल्प छैन ।

प्रतिक्रिया