लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीले गरे १९ बुँदे सम्झौता

नेपालखोज २०८१ पुष १२ गते १५:२९

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशको बीचमा १९ बुँदे सम्झौता गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा दुई प्रदेशको समृद्धि र विकासको साझा सरोकारको विषयलाई मुख्यमन्त्री आचार्य र कँडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी सम्झौता गरिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

सम्झौताहरू
१. प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने. २. प्रदेश कानून बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने ।

३. राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने ।

४. अन्तर–प्रदेश आबद्ध भएका देहायका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्नेः- (क) जमुनाह-हिल्सा सडक, (ख) सुर्खेत-तेलपानी-भुरीगाउँ सडक, (ग) राप्ती लोकमार्ग निर्माण, (घ) कोहलपुर–सुर्खेत सडक विस्तार, (ङ) कोहलपुर-बबई तथा बबई-छिन्चु सुरूङमार्ग सम्भाव्यता अध्ययन ।

५. लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने ।

६. भैरहवा-सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।

७. कोहलपुर-सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने ।

८. दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने ।

९. विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने ।

१०. लागू औषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने ।

११. लुम्बिनीमा आउने धार्मिक पर्यटकलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने ।

१२. दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने ।

१३. दुवै प्रदेशको सीमानामा रहेका नदीनालामा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने ।

१४. प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने ।

१५. बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, वडा नं. १ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका, वडा नं. ५ को साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने ।

१६. दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने ।

१७. कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रसम्मको पहुँच एवं लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने ।

१८. दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवद्र्धनको लागि सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने ।

१९. दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने ।

प्रतिक्रिया