प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०८१ पुष १३ गते १५:२३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

माछापुछ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलको सहमतिमा संविधान संशोधन गरिने बताए । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।

सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।’ 

सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए । उनले ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र स्थापना हुनु सकारात्मक हो भन्दै केन्द्र सञ्चालनका लागि सरकारका तर्फबाट सहयोग हुने  प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न  सरकार प्रतिबद्ध छ ।’

प्रतिक्रिया