सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तर्राष्ट्रिय कार्य समिति गठन

काठमाडौं । प्रवासमा बस्ने नेपालीको संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन यही डिसेम्बर २८ र २९ मा काठमाडाैंमा सम्पन्न भएको छ ।
महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ । २९ सदस्यीय कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रीय सदस्य मनोनीत गरिनेछ । साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनीत गर्नेछ ।
कानुनका विज्ञ समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाडाैंमा यूएनडिओ नामको संस्था स्थापना गरिएको थियो। त्यसपछि दर्ता प्रक्रियाको लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा लामो समय लाग्यो। त्यस पछि जुलाई ३०, २०२३ आइतबारका दिन सर्वोच्च अदालतले युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडिओ) नामको संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको थियो । सोही आदेश पछि परराष्ट्र मन्त्रालयले उक्त संस्था दर्ता गरेको थियो । तर गैर आवासीय नेपाली सङ्घ र यूएनडिओ बिच भने धेरै कुरा फरक छन् ।
एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपाली सदस्य र संलग्न हुने गरी उक्त संस्था गैर आवासीय नेपाली सङ्घका पूर्व उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा यूएनडिओको स्थापना गरिएको थियो । दुई वर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मूलका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छन् ।
यूएनडिओले नेपालको दिगो सामाजिक-आर्थिक विकासको परिणामको लागि अग्रणी पहल गर्ने, नीति निर्माता, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायी र सरोकारवालासङ मिलेर काम गर्ने साथै नेपालीलाई फाइदा पुग्ने विषयको पहिचान गरी कार्यान्वयनमा ल्याउने जनाएको छ ।
विधान अनुसार संस्थाको अन्तर्राष्ट्रिय महाधिवेशन हरेक ३/३ वर्षमा नेपालमा भौतिक रूपमा उपस्थित भएर आयोजना गरिनेछ ।
यही डिसेम्बर २८-२९ सम्म आयोजना गरिएको यो पहिलो महाधिवेशनले आगामी तीन वर्ष अर्थात् २०२४-२७ सम्मको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । महाधिवेशनले अल्पकालीन र दीर्घकालीन योजना समेत पारित गरेको छ ।

प्रतिक्रिया