क्यान महासंघमा सुन्ना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपालखोज २०८१ पुष १५ गते १७:०१

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५ औँ महाधिवेशनले सुन्ना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन । यो सँगै क्यान महासंघले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । पाण्डेले यसअघि क्यान महासङ्घमा लामो समय विभिन्न भूमिकामा रहेर कार्यसम्पादन गसिकेकी छन् । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक समेत हुन । 

महासंघको १५ औँ कार्यसमितिको उपाध्यक्षमा, हर्क बहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा चन्द्र विलास भुर्तेल र कोषाध्यक्षमा विक्रम सिंह निर्वाचित भएका छन् ।

सचिवमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, राम किशोर रावल र कर्णराज पनेरु चयन भएका छन् ।  त्यस्तै कार्यकारिणी सदस्यमा उमेश रघुबंशी, ध्रुवराज शर्मा, केशव प्रसाद भट्टराई, नारायण प्रसाद श्रेष्ठ, ठाकुर कुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दिपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोला, ओमकार बस्नेत, दिनेशराज कार्की, वन्दना शर्मा ज्ञवाली, देवेश प्रसाद लोहनी, सन्तोष कुमार श्रेष्ठ, राजु बानियाँ, मोना न्याछ्यो श्रेष्ठ, राजेश दुगड, गंगा भण्डारी, विकास गुरुङ, विमला राई, धनञ्जय महतो र खड्क बहादुर गुरुङ निर्वाचित भएका छन् । 

त्यस्तै लेखा समितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यमा सन्तोष ढुङ्गाना र पूजा अग्रवाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बत्ताइन । उनले नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बत्ताइन ।

उनले अगाडि भनिन्, ‘नेपालबाट विदेशमा आइटी कम्पनी विस्तार गर्नेदेखि विदेशबाट नेपालमा गुणस्तरीय आइटी परियोजना ल्याउन कठिनाइ भइरहेको छ । यहाँका श्रम शक्तिलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्छ । सरकार र सूचना प्रविधिमा संलग्न संघसंस्थासँग समन्वय गरेर मात्रै आइटी हबको लक्ष्य हासिल गर्न सकिन्छ ।’

त्यस्तै नवनिर्वाचित महासचिव भुर्तेलले क्यान महासंघको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएका छन् ।  

सन् १९९२ मा स्थापना भएको क्यान महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको छ । सन् २०१५ मा महासङ्घमा रूपान्तरण भएपछि यस संगठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ ।

त्यस्तै असोसियो, विट्सा जस्ता अन्तर्राष्ट्रिय आइसिटी संस्थामा समेत क्यान आबद्ध छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालकै ठुलो प्रविधि प्रदर्शनी हो ।

प्रतिक्रिया