‘बीपीको मेलमिलाप नीति अहिले पनि आवश्यक छ’

नेपालखोज २०८१ पुष १६ गते १९:२८

लेखनाथ (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापना गर्नकै लागि बिपीले तत्कालीन राजासँग मेलमिलाप गरेको बताएका छन् ।

उनान्चासौँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर आज नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित प्रवचन कार्यक्रममा उनले भने, ‘राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा बिपीले मेलमिलापको नीति लिनुभएको हो ।’ नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रथम जननिर्वाचित बिपी कोइरालाले राष्ट्रियता जोगाउन ठूलो जोखिम मोल्नुभएको स्मरण गरे ।

उनले राष्ट्रिय शक्तिलाई बलियो बनाउन आएको सङ्घीयताका बारेमा विरोध र टीकाटिप्पणी गर्नु गलत भएको बताए । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव श्रीनाथ बरालले बिपीले अँगालेको बाटोलाई दलहरूले अँगाल्दै जाने हो भने नेपालमा धनी र गरिबबीचको खाडल कम हुँदै जाने बताए ।

त्यति बेलाको समयमा प्रवासमा बसेकै बेला राष्ट्रियता र प्रजातन्त्रप्रति चिन्तित बिपीको मेलमिलाप नीतिबाट नै आज हामी यहाँसम्म आइपुगेको भनाइ उहाँको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरूङले मुलुक बचाउन फुटेर मैन मिलेर जानुपर्छ भन्ने नीति लिएकै कारण बिपी राजनीतिमा सफल भएको बताए ।

राष्ट्रिय जनमोर्चाका नेता शङ्कर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि बिपी कोइराला दूरदर्शी नेताको रूपमा चिनिँदै आएको बताउँदै लोकतन्त्र नै खतरामा पार्ने गरी ल्याइएको सङ्घीयता खारेज गर्नुपर्नेमा जोड दिए ।

नेपाल समाजवादी पार्टीका नेता किरण थापाले राष्ट्रियता भूगोलमा मात्र नभएर नेपाली जनताले पनि अनुभूति गर्नु पाउनुपर्ने बताउनुभयो । बिपीको मेलमिलाम नीतिलाई ठूला पार्टीले त्यति महत्त्व नदिएको भनाइ उनको छ ।

प्रतिक्रिया