ओलीलाई रावलकाे प्रतिप्रश्न- माधव र झलनाथसँग अध्यक्ष पदमा किन उठेको ?

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका भीम रावलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिप्रश्न गरेका छन् ।
पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरेका हुन् ।
‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’, रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको ?’
उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तलाई निरंकुश शैलीमा हटाउन थालेको बताए । उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’
उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका आरोप लगाए ।

प्रतिक्रिया