घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

बारा (कलैया) । खानेपानीमन्त्री प्रदीप यादवले जिल्लाका घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताएका छन् । आज उनले नेपाल खानेपानी संस्थान कलैया शाखाद्वारा आयोजित मानमत–कलैया–मटिअर्वा सडकखण्डमा जोडिने खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गरे ।
सो कार्यक्रममा बोल्दै उनले भने ‘बारामा घामपानीले क्षति पु-याएका खानेपानीका सबै ट्याङ्की मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने बचन दिन चाहन्छु ।’ पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी बढेको र जलवायु परिर्वतनका कारण तराईमा भूमिगत खानेपानीसहित चापाकल सुक्दै गएकाले आगामी दिनमा पानीको समस्या थप जटिल हुने अवस्था सृजना भएको बताए ।
‘विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, अहिले तीन सय फिटमा पनि आउन छाडेको छ,’ उनले भने, ‘शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको हाहाकार हुने सम्भावना छ ।’ सिस्वा गाउँ र आसपासका क्षेत्रमा खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको बोलपत्र आह्वान गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वप्रदेशसभा सदस्य पारस साह, कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया