विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय

नेपालखोज २०८१ पुष १९ गते १९:५७

मनहरी (मकवानपुर) । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माण गर्न १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् प्रभावित हेटौँडा–काठमाडौं सडक पुनर्निर्माण गर्न ११ करोड २५ लाख र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मत गर्न रु चार करोड बजेट व्यवस्था गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार बैठकले कुलेखानी–सिस्नेरी सडक मर्मत गर्न ५० लाख, कुलेखानी–महालक्ष्मी खोला फाखेल खण्ड मर्मत गर्न २५ लाख बजेट व्यवस्था गरेको छ । साथै सिमखोलमा बेलिब्रिज राख्न दुई करोड, सिस्नेरी खण्डको सडक पुनर्निर्माणका लागि छ करोड र सिस्नेरी–छैमले खण्डको सडक पुनर्निर्माण गर्न दुई करोड ५० लाख व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको उनले जानकारी दिए । बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेअनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको थियो ।

बैठकले सङ्घीय सरकारबाट सरूवा भएर आएका सचिव वीरेन्द्रदेव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । साथै प्रदेश सरकारले ११औँ तहमा बढुवा गरेका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया