आज डा. हर्क गुरुङको ९१औं जन्मजयन्ती

नेपालखोज २०८१ पुष २१ गते १२:०९

डा. हर्क गुरुङको जन्म वि.सं. १९९१ पुस २१ (सन् १९३५ जनवरी ५) मा लमजुङ जिल्लाको तराँचे गाउँमा भएको हो । उनले पढाइको सिलसिलामा भने जन्म मिति १९९५ लेखिएको देखिन्छ । उनको बुबा सुब्दार पार्सै गुरुङ पहिलो विश्वयुद्धमा फ्रान्स र प्यालेस्टाइनको युद्धमा गोर्खा सिपाही हुनुहुन्थ्यो । आमा मैस्यो गुरुङ भने गाउँमा नै बस्नुहुन्थ्यो । तराँचे गाउँ मनाङ जाने बाटोमा पर्दछ । हर्क नौ वर्षको हुँदा उनका बुबाले पढाइका लागि काठमाडौं ल्याउनुभयो ।

गाउँमा हर्कको नाम भने ठूला भनेर चिनिन्थ्यो । दुई ठूला दाइ जेठा र माहिला भए पनि वहाँलाई ठूला भनेर बोलाइन्थ्यो । त्यतिबेला लमजुङ भरि नै कुनै बिद्यालय थिएन । गाउँमा एकजना क्षेत्री बुढा थियो । भारतमा आउजाउ गर्ने हुँदन गाउँमा देसी बुढा भनेर चिनिन्थ्यो । उनैले केटाहरुलाई धार्मिक ग्रन्थहरु पढेर सुनाउथ्थ्यो । कनीकुथी सिकाउँथ्यो । दाजुहरु माहिला र साहिलाका कितावहरु घरमा देखेका थिए । दरवार हाइस्कुल काठमाडौं पढेका दाजुहरुका किताब देखेर ठूलालाई पनि पढ्ने रहर थियो । काठमाडौं निकै टाढा थियो । हिडेरै सात दिन लाग्थ्यो । ९ वर्षको हुँदा उनलाई काठमाडौं गएर पढ्ने भुत सवार भयो । वर्षको एकपटक गाउँमा पेन्सन अफिसका मान्छेहरु आउँथे । हुन त वहाँको बुबा पनि वर्षको एकपटक पेन्सन थाप्न काठमाडौं पुग्दथे ।

अफिसरहरु आउने सुइको पाएपछि उनिहरुकै साथ काठमाडौं जाने मनमनै सोचे । काठमाडौं भाग्ने निधो गरेको दिन बिहानै उनले केही कपडा घरबाट बाटोमा लुकाए । अफिसरहरुको लश्करै घोडामा फर्कदा उ पनि अगाडि कुलेलम ठोके । संगै खेलिरहेका साथीहरूले पछ्याए तर सकेनन् । बाटोमा अफिसरहरुले यति लामो बाटो छ, सुत्ने ठाउँ हुदैन खाने ठेगान हुदैन, तिमी गाउँ फर्क भने । तरउनले जवाफ दिए, जे पाउँछ खान्छु, रुख मुनि सुत्छु, तर काठमाडौं जसरी पनि जान्छु । उनको पढेर ठूलो मान्छे बन्ने सपना थियो, नामले मात्रै ठूला भएर गाउँ बस्ने थिएन ।

पहिलो रात ती अफिसरहरु ठूलोचौरमा बास बसे । ठूलालाई पनि खान दिए, सुत्न दिए । भोलिपल्ट बिहान बूढो बुबा खोज्दै उनी भएको ठाउँ पुगे । बाबुले सोधे, किन घरबाट भागेको ? उनले जवाफ दिए । म काठमाडौं जान्छु र स्कुल पढ्छु । बाबुले सम्झाए, सात दिनको बाटो हिडेर जान सक्दैनौं । तर ठूला मान्दै मानेन् । अन्तत बाबु उनलाई साथ लिएर काठमाडौंसंगै जान राजी भए ।

पाँचमाने डाँडा पुगेपछि बाबुले टाढा देखिएको काठमाडौं शहर देखाए । उसको सपनाको शहर देखेर उनी दंग परे कत्रो ठूलो शहर … ।

उनको अगाडि उनको सपना साकार हुँदै थियो । अन्तरात्मा देखि खुशी हुँदै थिए । अब उनको अगाडि नयाँ संसार प्रकट भएको थियोे जहाँ उनका अनगिन्ती चाहनाहरु पूरा हुनेछ । ………

२०६३ असोज ७ गते घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा वहाँको निधन भयो । आन्दोलनको सफलता पछि वहाँको आबश्यकता अत्यधिक हुने समयमा नै वहाँको निधन भयो । कतै कतै वहाँको मृत्युको आभास वहाँलाई भइसकेको आकलन पनि गरिएको थियो ।

जन्म गाउँमा आफ्नो मृत्युु पछि शव गाड्नका लागि केही समय अगाडि मात्रै जमिन खरिद गर्नु र सबै आफन्तलाई त्यही जमिनमा गाड्न अनुरोध गर्नुभएको थियो । वहाँले आफ्नो प्रकाशोन्मुख पुस्तक Nepal: Atlas & Statistics को पाण्डुलिपि प्रेसमा पठाउँदा वहाँले नेपालको नक्सामा घुन्सालाई महत्वका साथ रातो गोलो लगाउनु भएको थियो ।

खैर मृत्युु एउटा संयोग थियो । तर पनि भन्न मन लाग्छ, डा. हर्क र डा. चन्द्र एकसाथ जानु आबश्यक थिएन । वा भनौ एउटै हेलिकप्टरमा देशका लागि महत्त्वपूर्ण सबैलाई एकसाथ लानु हुदैनथ्यो ।

हार्दिक श्रद्धाञ्जली डा. हर्क गुरुङ प्रति

तस्विरमा

२०१२ चैत्रमा पोखरामा पेन्सन बितरणको लागि सोल्डर्स बोर्ड हस्पिटल र सोल्डर्स बोर्ड स्कुलको बिचमा पेन्सन क्याम्प खोलिएको थियो । २०१९ पौषमा भारतिय पेन्सन क्याम्पमा पेन्सन थाप्न आउनेको भिड, त्यती बेला यो छाप्रो हालको स्थानमा बनाइएको थियो । तस्विर – हर्क गुरुङ

माथिको केही अंश प्रकाशनको तैयारीका लागि लेख्दै गरेको पुस्तकको केही अंश हो ।

प्रतिक्रिया