स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा सहयोग सामाग्री हस्तान्तरण

नेपालखोज २०८१ पुष २१ गते १४:५६

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकको लागि सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

संस्थाका अनुसार यही पुस १९ गते एक कार्यक्रमको आयोजना गरी पेप्सीकोला काठमाडौं स्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्ची हस्तान्तरण गरिएको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय चुच्चे पाटीमार्फत उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । 

ज्येष्ठ नागरिक चौतारीका राधा आचार्य भट्टको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था ली. का नायब महाप्रबन्धक गोविन्द चापागाईँको प्रमुख आतिथ्य तामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि चापागाईँले सहयोग सामग्रीको उचित सदुपयोग हुने विश्वास सहित आगामी दिनमा पनि वित्तीय संस्थाले यस्ता सहयोग निरन्तर गर्ने बताए ।

विशिष्ट अतिथि तथा सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग र सामाजिक कार्यको प्रशंसा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । 

संस्थाले ग्राहक संरक्षण कोषबाट प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत प्रदान गर्ने, गम्भीर प्रकृतिको रोग लागेका बिरामीलाई तथा प्रसूति भएका, आगलागी तथा बाढी पहिरोबाट आवास क्षति भएका सदस्यलाई सहयोग गर्ने, समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवं पुनर्स्थापना गर्ने तथा ग्राहकको शिक्षा र क्षमता विकासमा उपयोग गर्ने गरेको छ । आ.व.२०८०/८१ मा ग्राहक संरक्षण कोषबाट एक करोड ८५ लाख चार हजार ५४७ रकम सुविधा प्रदान गरिएको छ । 

सदस्य तथा सदस्यका संरक्षकको निधन हुँदा परिवारका आश्रित अन्य सदस्यलाई कर्जा तिर्ने दायित्वबाट राहत दिने उद्देश्यले लगानी गरिएको कर्जाको बिमा गर्ने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र १९ करोड ६० लाख ९८ हजार रूपैयाँ बिमा सुविधा प्रदान गरिएको छ ।

वित्तीय संस्थाको नाफा रकमको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राखी सो कोषबाट वित्तीय संस्थाको कार्यक्रम सञ्चालन भएका कार्यक्षेत्र तथा अन्य क्षेत्र भित्र रहेका विभिन्न सामाजिक परियोजनामा खर्च गर्न, विपन्न वर्गका लागि सञ्चालन गरिने शिक्षा तथा स्वास्थ्यमा हुने खर्चमा आवश्यक सहयोग गर्न र विपन्न वर्गको सामूहिक हितका लागि सहयोग हुने कार्यक्रम विकासमा खर्च गर्ने व्यवस्था रहेको छ । यस कोषबाट आ.व. २०८०/८१ मा १५ लाख दुई हजार ४७२ रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा संस्थाका विभागीय प्रबन्धक राजन प्रसाद भट्टराई, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेल, पूर्व अध्यक्ष गोपाल बहादुर तामाङ्ग, ज्येष्ठ नागरिक चौतारीका संयोजक क्षेत्र भूषण दाहाल लगायत स्थानीय बुद्धिजीवी, संस्थाको शाखा कार्यालय चुच्चे पाटी, काठमाडौंका कर्मचारी, सदस्यको उपस्थिति रहेको थियो भने ज्येष्ठ नागरिक चौतारीको तर्फबाट गीता कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । 

स्वावलम्बन लघुवित्त वित्तीय संस्था ली. प्रचलित कम्पनी ऐन बमोजिम नेपाल सरकार कम्पनी रजिस्ट्रार को कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा/उपशाखा र नौ वटा इलाका कार्यालयमार्फत करिब दुई लाख ६० हजार भन्दा बढी विपन्न महिला सदस्यलाई समूहमा आबद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुकीमा लगायतका अत्यावश्यक बुकिङ/वित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।  

प्रतिक्रिया