‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताएका छन् ।
कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवताविरुद्धको विश्वव्यापी समस्या र नयाँ चुनौतीका रूपमा देखापरेको बताए ।
मानव बेचबिखन तथा ओसारपसारको समस्यामा बालिका र महिला बढी जोखिममा रहेका उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसलाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रले सूचनामूलक कार्यक्रम सञ्चालन गरी समाजलाई सूसुचित गराउनुपर्नेमा जोड दिए ।
मानव बेचबिखन तथा ओसारपसारका कारण पीडित र प्रभावितलाई सम्मानपूर्ण जीवनयापन गर्न उपयुक्त वातावरण सिर्जना गर्न सरकार, नागरिक समाज र सबै सरोकार भएका निकायबीच हातेमालो गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले बताए ।
सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैङ्गिक समानतासम्बन्धी नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने प्रदेश प्रमुख भट्टले बताए ।

प्रतिक्रिया