सुन जस्तो देखिने धातु सहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थान सहित चितवन भरतपुर महानगरपालिका–१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
ठगी कार्यमा संलग्न दुई जना पक्राउ
ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अछाम घर भई कास्की पोखरा महानगरपालिका–६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र कास्की पोखरा महानगरपालिका–५ प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्री रहेका छन् ।
पोखरा राईडर्स क्लबको आयोजनामा २०८० चैत २३ र २४ गते संचालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४’ खेलमा प्रथम हुने खेलाडीलाई दिने भनि घोषणा गरेको १ लाख ५० हजार रूपैयाँ नदिई सम्पर्कबिहिन भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले खेल संचालक तथा निर्देशक जगत र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिकलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया