काठमाडौं विश्वविद्यालयमा पत्रकारितामा स्नातक तहको कार्यक्रम सुरु

काठमाडाैं । काठमाडौं विश्वविद्यालयले अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गरेको छ ।
स्कुल अफ आर्ट्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ महिनादेखि सुरु गरिने विश्वविद्यालयको स्कुल अफ आर्टस्की डीन एक्कुमाया पुनले जानकारी दिए । ‘चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणालीअन्तर्गत आठ सेमेस्टरसम्म पठनपाठन हुनेछ । विद्यार्थीले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सीप हासिल गर्न पाउनेछन्,’ उनले भने ।
भाषा तथा आमसञ्चार विभाग स्कुल अफ आर्ट्सका विभागाध्यक्ष डा निर्मलमणि अधिकारीका अनुसार अङ्ग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधा तथा बहुविधात्मक सांस्कृतिक अध्ययनका साथसाथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीति पनि पाठ्यक्रममा समेटिएको छ ।
प्राध्यापक डा अभि सुवेदीले यस कार्यक्रमले स्नातकलाई शिक्षा, पत्रकारिता, प्रकाशन, जनसम्पर्क, अनुसन्धान, गैर-सरकारी सङ्गठन, कर्पोरेट सञ्चार र अन्य धेरै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राध्यापक डा सुवेदीले भाषा, साहित्य तथा आमसञ्चारलाई जोड्दै अध्ययनलाई वैश्विक रूपमा सान्दर्भिक बनाउने काठमाडाैं विश्वविद्यालयको प्रयास रहेको बताए ।
कक्षा १२ वा याे सरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो कार्यक्रम खुला हुने र कार्यक्रममा २० जना विद्यार्थीलाई भर्ना गरिने जनाइएको छ ।
भाषा तथा आमसञ्चार विभागले यसअघि मिडिया अध्ययनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमका साथै सञ्चार, अङ्ग्रेजी र नेपालीमा विद्यावारिधि कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।
चलचित्र निर्माण, प्राज्ञिक लेखन तथा सञ्चार सिद्धान्तको विपश्चिमीकरण तथा मौलिक सिद्धान्तीकरण लगायतका विषयमा अल्पकालीन शैक्षिक कार्यक्रम पनि विभागले सञ्चालन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया