नयाँ वर्षको अवसरमा दुबईमा मधेसी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन

काठमाडौं । मधेसी एकता समाज, युएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेसी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका लागि नयाँ ऊर्जा थपेको छ ।
श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो । मधेसी एकता समाजले सन् २०२१ मा स्थापनापछि हरेक वर्ष नयाँ कार्यसमितिको चयन गर्दै आएको परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रमले रोशन मार्कसिस्टको नेतृत्वमा समाजको युएई च्याप्टरको नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको महासचिवमा एस के यादव, सह अध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय, अर्का सह अध्यक्षमा राम साह चयन गरिएका छन् । यस्तै एकता समाजको मधेसी व्यवसायी परिषद्को संयोजकमा कवीन्द्र यादव र युवा संयोजकमा आदित्य अटललाई चयन गरिएको छ । त्यस अवसरमा एकता समाजका संस्थापक डाक्टर रवीन्द्र कुमार यादव र अफजल हुसैन (गुलजार) लाई मधेसी समुदायमा उल्लेखनीय योगदान दिएकोमा विशेष सम्मान गरिएको थियो ।
त्यस्तै, व्यवसायीहरु कवीन्द्र यादव, बिनेश यादव र गणेश पूर्वे तथा प्रमुख सल्लाहकार र संस्थापक सदस्य मुकेश झा र तनवीर आलमलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । यस्तै, निवर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबार यादवलाई सफल नेतृत्वका लागि धन्यवाद दिइएको थियो ।
आफ्नो मन्तव्य राख्दै संस्थापक डा रवीन्द्र यादवले मधेसी एकता समाजको स्थापना, उद्देश्य र विगतका सफलताबारे प्रकाश पार्दै मधेसी समुदायलाई एकता र सामूहिक प्रगतिका लागि माथि उठ्न आह्वान गरे । डाक्टर यादवले संयुक्त राष्ट्र संघको अल्पसङ्ख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका बारेमा जानकारी गराए ।
उनले मधेसी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेसी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्याउन जोड दिए । मधेसी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेसी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको छ र यसको गतिविधि हालसम्म विश्वका प्राय: सबै देशमा फैलिएको छ ।

प्रतिक्रिया