शनिबार, वैशाख १३, २०८२

इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

नेपालखोज २०८१ पुष २४ गते १५:५९

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

कतिपय गैरसरकारी तथा सामुदायिक स्तरबाट सञ्चालित संस्था नवीकरणबिना सञ्चालनमा आएको उजुरी पछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्था मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीलाई भनेका थिए । जनस्वास्थ्य सेवा नियमावलीमा इजाजत पत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीले बताए ।

प्रतिक्रिया