रवि आज आफैं काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडौं । धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका रवि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् । लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित हुन लागेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
अदालतबाट छुटेपछि बिहीबार प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।
उनीसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

प्रतिक्रिया