‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’

नेपालखोज २०८१ पुष २६ गते १४:३८

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

‘दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले पनि काम गर्न नसके जनतामा थप निराशा आउनेछ । यसर्थ सरकारले जनमुखी काम गर्न आवश्यक छ । त्यसका लागि पार्टीबाट आवश्यक सहयोग गर्न हामी तयार छाैँ,’ साउदले भने ।

वर्तमान सरकार गठनपछि शेयर बजारसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि अर्थतन्त्रका समग्र चुनौती सामना गर्ने गरी प्राथमिकता निर्धारण गरेर काम गर्न उनले आग्रह गरे ।

पूर्वमन्त्री साउदले सरकार निर्माणताका दुई दलबीच भएको सहमतिअनुसार सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा संविधान संशोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया