लागुऔषध, अनलाइन ठगी र खनिज : म्यानमार विश्वव्यापी अपराधको राजधानी

काठमाडाैं । पहाडको गाउँ देखि सुरु भएका फूलबारी सडकका दुवैतर्फ फैलिएका छन् । जहाँ सेतो, गुलाबी र बैजनी रङ्गका फूल फुलेका छन् ।
उत्तर पूर्वी म्यानमारस्थित शान राज्यको यस भेगमा फुलेका फूलको सुन्दरताले यस क्षेत्रले गृहयुद्धबाट मुक्ति पाएको लाग्न सक्छ । तर यसको विपरित यी फूल यसै युद्धका लक्षण हुन् । यी खेतमा फुलेका सबै फूल अफिम खेती हो । आजको दिनमा म्यानमार हिरोइन र अफिम बनाउनको लागि चाहिने कच्चा पदार्थको विश्वको सबैभन्दा ठुलो निर्यातकर्ताको रूपमा पहिलो स्थानमा छ । र यो त सुरुवात मात्र हो ।
करिब चार वर्षअघि सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार अहिले अन्तर्राष्ट्रिय अपराधको केन्द्रको रूपमा स्थापित छ । लडाकु, हतियार व्यापारी, मानव तथा जीवजन्तु तस्कर, लागुऔषध सिन्डिकेट र अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी भएका सेनाका जनरलका लागि खेल मैदान बनेको छ ।
ग्लोबल अर्गनाइज्ड क्राइम इन्डेक्सका अनुसार- ‘म्यानमार अहिले संसारकै संगठित अपराधको सबैभन्दा ठुलो नेक्सस बनेको छ ।’
म्यानमारमा बढ्दै गएको अपराधले यहाँका ५ करोड ५० लाख जनताको लागि विनाशकारी समय निम्त्याउँदै छ । यसले विश्वभर अपराधको सञ्जाल पनि फैलाइरहेको छ । सन् २०२१ को फेब्रुअरीमा भएको सैनिक विद्रोहले निर्वाचित आङ सान सुकीको सरकारलाई हटाएपछि देशको आधाभन्दा बढी भूभागमा गृहयुद्ध चलिरहेकाले म्यानमार अहिले डरलाग्दो अवस्थामा गुज्रिरहेको छ ।
म्यानमार अहिले विश्वको सबैभन्दा ठुलो अफिम उत्पादक देश हुनुका साथै मेथाम्फेटामाइन, केटामाइन र फेन्टानिलसहित सिंथेटिक लागुऔषधको पनि सबैभन्दा ठुलो उत्पादनकर्ता बनेको छ । छिमेकी चीन र भारतबाट आयातित रसायन प्रयोग गरी म्यानमारमा बनाइएका लागुऔषधका ट्याब्लेट अस्ट्रेलियासम्म पुग्ने गरेको छ । व्यापक रूपमा फैलिएका लागुऔषधका कारखाना र कमजोर अन्तर्राष्ट्रिय कानुन प्रवर्तनका कारण यी लागुऔषधको खुद्रा मूल्य धेरै नै सस्ता छन् ।
म्यानमारलाई नार्को (लागुऔषध) राज्य मात्रै होइन, विश्वभरि स्वच्छ ऊर्जामा प्रयोग हुने केही दुर्लभ खनिज तत्त्वहरूको विश्वको सबैभन्दा ठुलो निर्यातकर्ता पनि मानिन्छ । युद्धबाट प्रभावित क्षेत्र उत्खननका कारण विषाक्त भूमिमा परिणत भएका छन् । तस्करले अवैध खानी खन्दै दुर्लभ खनिजलाई पुराना तस्करी मार्गमार्फत चीन पठाउँछन् । यस दक्षिण पूर्वी एसियाली राष्ट्र सबैभन्दा राम्रो जेड र रुबी पाइने देश हो, जसलाई लागु पदार्थको लतमा परेका युवाले उत्खनन गरेर निकाल्ने गरेका छन् । तस्करहरूले लोपोन्मुख वन्यजन्तु र महँगो काठको लागि म्यानमारको जङ्गल चहार्ने गर्छन् र प्राय: सबै तस्करीका सामान चीनतर्फ नै निर्यात हुने गर्छ ।
बेइजिङले गर्ने गरेको कानुनी कारबाही र म्यानमारको युद्धका कारण चिनियाँ आपराधिक सिन्डिकेटको पहुँच विस्तार भइरहेको छ, जसले यस क्षेत्रमा दण्डहीनता र एकाधिकारका साथ गैर कानुनी काम गरिरहेका छन् । चिनियाँ हतियार म्यानमारका सैनिक सरकार (जुन्टा) र उनीको विरुद्ध लडिरहेका विरोधी समूह दुवैतिर भेटिन्छन् ।
म्यानमारको सिमानामा चिनियाँ आपराधिक गिरोहले स्थानीय स्तरमा रहेका जातीय विद्रोहीसँग मिलेर विभिन्न देशका मानिसलाई अपहरण गरी अनलाइन मार्फत ठगी गर्न बाध्य पारिरहेका छन् । यी अनलाइन ठगीद्वारा अमेरिका, चीन, युरोप र अन्य देशका रिटायर, वृद्ध तथा एकल मानिसबाट अर्बौँ डलर लुटेको अन्तर्राष्ट्रिय प्रहरी संगठन बताउँछन् ।
दक्षिण पूर्वी एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) का क्षेत्रीय प्रतिनिधि मसूद करिमिपौर भन्छन्- ‘सङ्गठित अपराधको लागि द्वन्द्व जारी रहनुमा निहित स्वार्थ छ किनभने यस्तै युद्धको वातावरणमा अपराध फस्टाउँछ । जति धेरै समय द्वन्द्व भइरहन्छ, त्यति नै धेरै क्षेत्र यस्ता संगठित आपराधिक समूहको नियन्त्रण वा प्रभावमा पर्छन् ।’
उनी भन्छन्- ‘यसबाट हुने नाफा, वास्तवमै डरलाग्दो चीजहरूबाट प्राप्त हुन्छ जसले म्यानमार र अन्य धेरै देशमा जीवन बरबाद गरिरहेको छ ।’
म्यानमारको सैन्य सरकार र यससँग गठबन्धनमा रहेका जातीय लडाकु यस अवैध अर्थतन्त्र चलाउने सबैभन्दा ठुलो गिरोह हुन् । सेनाको डरलाग्दो मानवअधिकार हननका रेकर्डको कारणले कु पछि अन्तर्राष्ट्रिय नाकाबन्दी भएसँगै जुन्टाको नाफामा कटौती भएको छ । तर लोकतन्त्र र क्षेत्रीय स्वायत्तताको पक्षमा लड्नेलाई पनि थाहा छ कि गैर कानुनी आम्दानी जुन्टाले लडिरहेको युद्धलाई आर्थिक रूपमा सहयोग पुर्याउने सबैभन्दा सजिलो तरिका हो ।
न्यु योर्क टाइम्सले गरेको रिपोर्टिंगहरुले म्यानमारमा केही वर्ष देखि चलेको गृह युद्धले देशलाई असफल राज्यको रूपमा परिणत गरी अरू द्वन्द्व निम्त्याइरहेको छ । साथै यस महाद्वीपमा दु:ख, परनिर्भर र भ्रष्टाचारका घटना अत्यधिक रूपमा बढी रहेको खुलासा गरेका छन् । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया