‘मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ’

नेपालखोज २०८१ पुष २९ गते १४:५३

काठमाडाैं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् ।

विज्ञान प्रवर्द्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताए ।

कृषि क्षेत्रमा पुर्याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।

‘मानव वन्यजन्तुबीचको द्वन्द्व गम्भीर चुनौतीका रुपमा देखापरेको छ, मानिसको जनसङ्ख्या वृद्धिसँगै वन्यजन्तुको प्राकृति आहार तथा बासस्थान खण्डीकरण र सङ्कुचन भई आहार र बासस्थानको खोजीमा मानववस्तीमा वन्यजन्तु पस्दा द्वन्द्व मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । बाँदर, बँदेल, दुम्सी, हात्ती गैँडा जस्ता जनावरले किसानका खेतीबालीमा क्षति पु¥याउने समस्या बढिरहेको छ,’ उनले भने ।

‘बाँदर आतङ्क बढेपछि किसानले खेती गर्ने उत्साह गुमाउँदै गएका छन्, गाउँबस्ती उजाड जस्तै बन्न थालिसकेको छ, बसाइँसराइको क्रम आकाशिएको छ,’ मन्त्री अधिकारीले भने ।

उनले गाउँघर सुनसान हुँदै गएको र ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिने क्रम बढेकाले कृषि क्षेत्रमा मात्रै नभइ देशको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा नै प्रभाव पारेको बताए ।

प्रतिक्रिया