दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुर्व्यवहार गर्नेलाई कारवाही गर्न कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कारवाहीको माग गरेकाे छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै यस्ता घटनामा संलग्न जो भए पनि कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेकाे हाे ।
‘सहकारीको अपचलन तथा ठगि प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक वहस सकिएपछि अधिवक्ता त्रिपाठीलाई हातपात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएकाे छ ,’विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुन्छ, यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको छ । विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन ।’
सहकारीको अपचलन तथा ठगि प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा हिजाे भएको थुनछेक बहस सकिएपछि बाहिर निस्कदै गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै केही व्यक्तिले हातपात र दुर्व्यवहार गरेहा थिए ।

प्रतिक्रिया