सुर्खेत कारागारका कैदीबन्दीलाई मनोसामाजिक परामर्श

कर्णाली । जिल्ला कारागार कार्यालय सुर्खेतका ३७२ कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा यहाँका कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिइएको हो । उक्त कार्यक्रममा प्रशिक्षण दिँदै जीवन प्रशिक्षक राधा पौडेलले मानिस मानसिक, शारीरिक, सामाजिक र अध्यात्मिकरुपले स्वस्थ हुनका लागि परामर्श, योग र ध्यान आवश्यक रहेको बताए ।
प्रशिक्षक पौडेलले भने, ‘सोच बिग्रँदा गलत भावनाको विकास हुन्छ र त्यसले चेतना शक्ति नै कमजोर बनाइदिन्छ । तपाई सकरात्मक सोच मात्र राख्नुस्, यसले प्रेम, आनन्द, शान्ति र खुसी दिलाउँछ ।’ मभित्र हिरा र रत्नको खानी छ र यो समाजलाई म केही दिन सक्छु भन्ने सोच राख्न र योग ध्यानमा जोड दिन प्रशिक्षक पौडेलले कैदी बन्दीलाई सुझाए ।
कैदीबन्दीले गलत गरेर आएकाका लागि कारागार सुधार गृह भएपनि कमजोरीविना फसाइएका यहाँ आएर डिप्रेसनको सिकार हुनुपरेको गुनासो गरे । उनीहरुले भने, ‘पहुँचवाला गलत गरेर आएका पनि पैसा तिरेर बाहिरिन्छन् तर पहुँचविहीन निर्दोष हुँदासमेत अन्याय सहेर थन्किनुपरेको छ ।’ गलत र सहीको अध्ययन अनुसन्धान नभई शक्ति र पहुँचका आधार न्याय दिने प्रणालीले निर्दोषले विनाकारण सास्ती भोग्नुपरेको उनीहरुले पीडा व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका निमित्त सचिव उत्तम गौतमले कैदीबन्दीमा सिर्जनशील सोच, पठन संस्कृति र सहिभावनाको विकास गराउने ध्येयले कारागारमा मनोसामाजिक परामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बताए । ‘आशा छ, थोरै भएपनि परामर्श कार्यक्रमले उनीहरुको मनभित्र हुने आत्मग्लानी, हिनताबोध र कमजोरी भाव कम गर्न सघाउनेछ,’ उनले भने, ‘गलत सुधारका लागि सिकाई रहेछ भन्ने बुझाइको विकास हुनेछ ।’

प्रतिक्रिया