२८ प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले पदोन्नति भएका २८ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबिच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन ।
नेपाल सरकार गृहमन्त्री स्तरको २०८१ माघ ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा २५ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिव स्तर) को २०८१ माघ ८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा २८ जना प्रहरी अधिकृत पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, अजय केसी, अनुपम शमशेर ज.ब.रा, वीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोइराला, हो बिन्द्र बोगटी, कृष्ण प्रसाद पङ्गेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, सञ्जय सिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल रहनुभएको छ । यसैगरी प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी तथा प्राविधिक प्रहरी नायव उपरीक्षक बुद्वमाया लामा र विकास श्रेष्ठ रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पादन गर्दै नागरिकको सेवा र सङ्गठनको वृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सकारात्मक सोच र ऊर्जाका साथ नागरिकको सेवा र सङ्गठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत-लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया