हिमोफिलियाका बिरामीलाई नि:शुल्क औषधी उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई नि:शुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् ।
निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ ।
विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं, मन्त्री पौडेलले भने, धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस औषधीका लागि राज्यकोमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले बताए ।
नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ ।
२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ । मन्त्रालयले सङ्घीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया